काठमाडौं । नेपालमा डिजिटल बैंकिङप्रति सर्वसाधारणको भरोसा र आकर्षण तीव्र रूपमा बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनाको तथ्यांकले मोबाइल बैंकिङ कारोबार संख्या र रकम दुवैमा उल्लेख्य उछाल देखाएको छ।
राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म मोबाइल बैंकिङमार्फत ३८ करोड ३ लाख ७२ हजार ४४१ पटक कारोबार भएका छन्। यस अवधिमा मोबाइल एपमार्फत मात्रै ३० खर्ब ११ अर्ब ७७ करोड ५ लाख ४७ हजार रुपैयाँ बराबरको भुक्तानी भएको हो। पछिल्ला वर्षहरूको तुलनामा देखिएको यो वृद्धिले नेपालको अर्थतन्त्र तीव्र गतिमा ‘क्यासलेस’ प्रणालीतर्फ अग्रसर भइरहेको संकेत गर्छ।
पाँच वर्षमै तेब्बर वृद्धि
विगत पाँच वर्षको तथ्यांकले मोबाइल बैंकिङ प्रयोगमा उल्लेखनीय छलाङ देखाएको छ। आर्थिक वर्ष २०७८/७९ मा वार्षिक कारोबार संख्या करिब १८ करोड १५ लाख रहेकोमा आर्थिक वर्ष २०८१/८२ सम्म आइपुग्दा यो संख्या बढेर ६१ करोड ४१ लाख ३३ हजार ९१० पुगेको छ।
चालु आर्थिक वर्षको सुरुवाती ६ महिनाकै प्रवृत्तिलाई आधार मान्दा वर्षको अन्त्यसम्म मोबाइल बैंकिङ कारोबार संख्या ७५ करोड नाघ्ने प्रक्षेपण गरिएको छ।
रकममा पनि ऐतिहासिक उछाल
कारोबार रकमको हिसाबले पनि मोबाइल बैंकिङले नयाँ कीर्तिमानतर्फ यात्रा गरिरहेको छ। आर्थिक वर्ष २०७८/७९ मा वार्षिक १२ खर्ब १० अर्ब रुपैयाँ बराबरको कारोबार भएकोमा आर्थिक वर्ष २०८१/८२ मा यो बढेर ५० खर्ब १८ अर्ब ३३ करोड पुगेको थियो।
चालु आर्थिक वर्षको ६ महिनामै ३० खर्ब रुपैयाँभन्दा बढी कारोबार भइसकेकाले यही गतिमा वृद्धि कायम रहे वर्षको अन्त्यसम्म मोबाइल बैंकिङ कारोबार ६० खर्ब रुपैयाँ नाघ्ने देखिन्छ।
किन बढ्दैछ मोबाइल बैंकिङ ?
राष्ट्र बैंकको तथ्यांकले मोबाइल बैंकिङ अब सहर केन्द्रित मात्र नभई ग्रामीण भेगसम्म फैलिँदै गएको पुष्टि गर्छ। क्युआर कोडको व्यापक प्रयोग, मोबाइल एपबाटै बिजुली, खानेपानी, इन्टरनेट तथा अन्य सेवा महसुल तिर्न सकिने सुविधा र बैंक तथा वित्तीय संस्थाको आक्रामक डिजिटल विस्तारले यसलाई थप सहज बनाएको छ।
गत आर्थिक वर्ष २०८०/८१ मा ३४ खर्ब ५२ अर्ब ७८ करोड रुपैयाँको कारोबार भएकोमा एकै वर्षमा करिब १५ खर्ब रुपैयाँभन्दा बढीको वृद्धि देखिनुले सर्वसाधारणले नगदभन्दा डिजिटल माध्यमलाई बढी सुरक्षित र सरल ठान्न थालेको संकेत गर्छ।
नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई उच्च प्राथमिकतामा राख्दै नीतिगत सहजीकरण गरिरहेकाले मोबाइल बैंकिङ कारोबारको ग्राफ निरन्तर उकालो लागिरहेको छ। यद्यपि, कारोबारसँगै साइबर सुरक्षा र प्राविधिक जोखिम व्यवस्थापनमा बैंकहरूले थप लगानी गर्नुपर्ने चुनौती पनि उत्तिकै महत्त्वपूर्ण बन्दै गएको छ।
