सुन बजार नयाँ युगमा, जोखिमबीच अवसरको खोजी

काठमाडौं । हजारौँ वर्षदेखि सुरक्षित मूल्य भण्डारका रूपमा लिइँदै आएको सुन सन् २०२६ मा भने असामान्य उतारचढावको केन्द्रमा देखिएको छ। सामान्यतया संकट, मुद्रास्फीति वा सेयर बजार कमजोर हुँदा सुरक्षित आश्रय मानिने सुन पछिल्लो समय ‘मिम स्टक’ जस्तै अत्यधिक चलायमान बनेको छ, जसले लगानीकर्ता र विश्लेषक दुवैलाई अचम्मित पारेको छ।

यस वर्ष सुनको मूल्यले एकपछि अर्को रेकर्ड बनाउँदै गत महिना इतिहासकै सबैभन्दा ठूलो एकदिने गिरावटसमेत व्यहोरेको छ। सन् १९७९ मा १४४ प्रतिशत र सन् २०२० को कोरोना महामारीको समयमा २४ प्रतिशतले बढेको सुनको मूल्य सन् २०२६ मा हालसम्म करिब १५ प्रतिशतले बढिसकेको छ। यद्यपि, यो वृद्धिसँगै तीव्र गिरावटले सुनको परम्परागत ‘सुरक्षित लगानी’को छविमाथि प्रश्न पनि उठाएको छ।

बढ्दो भू–राजनीतिक तनाव र व्यापारीहरूको अत्यधिक खरिद चापका कारण पछिल्ला वर्षमा सुनको मूल्य अकल्पनीय रूपमा उक्लिएको देखिन्छ। सन् २०२४ मा २७ प्रतिशत र २०२५ मा ६७ प्रतिशतले बढेको सुनको मूल्य अक्टोबरमा प्रति औंस ४ हजार डलर र जनवरीमा ५ हजार डलरसम्म पुगेको थियो।

विश्व बजारमा धातुमा लगानी गर्न सहज माध्यमको विस्तारले पनि सुनमा होडबाजी बढाएको छ। एक्सचेन्ज ट्रेडेड फण्ड (ईटीएफ) मार्फत सेयरझैँ सुन र चाँदी किनबेच गर्न सकिने भएपछि लगानीकर्ताको सहभागिता तीव्र भएको छ। ‘फ्याक्टसेट’का अनुसार अगस्ट महिनामा मात्रै भौतिक सुनको प्रदर्शन पछ्याउने ‘एसपीडीआर गोल्ड ईटीएफ’ मा इतिहासकै ठूलो लगानी प्रवाह भएको थियो। विश्लेषकहरूका अनुसार अहिले अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीमा ‘मिम स्टक’ जस्तै उत्साह र चर्चा देखिएको छ।

बिटक्वाइनको मूल्यमा पछिल्लो समय आएको करिब ५० प्रतिशत गिरावटले पनि लगानीकर्ताहरू सुनतर्फ मोडिएको अनुमान गरिएको छ। तर, जनवरी ३० मा देखिएको भारी गिरावटले सुनको चमक अस्थायी हुन सक्ने संकेत दिएको छ।

अन्तर्राष्ट्रिय बजारको असर नेपाली बजारमा पनि स्पष्ट देखिएको छ। विवाहको सिजन र चाडपर्वमा सुनको माग उच्च हुने नेपालमा मूल्यको अस्थिरताले उपभोक्तालाई अन्योलमा पारेको छ। माघ महिनाको सुरुवातमा प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँ रहेको सुनको भाउ माघ १५ गते हालसम्मकै उच्च बिन्दु ३ लाख ९ हजार ३०० रुपैयाँ पुगेको थियो।

तर, यो वृद्धि टिक्न सकेन। माघ १९ गतेसम्म आइपुग्दा सुनको मूल्यमा १५ प्रतिशतभन्दा बढीको ऐतिहासिक गिरावट देखियो। महिनाको उत्तरार्धमा उतारचढाव जारी रहँदा माघ २१ गते एकैदिन १४ हजार ४०० रुपैयाँले बढेर ३ लाख ४ हजार ७०० पुगेको सुन माघ २३ गते फेरि घटेर २ लाख ९१ हजार रुपैयाँमा झरेको छ।

सुरक्षित लगानी मानिने सुनको भाउमा देखिएको यस्तो ‘रोलर–कोस्टर’ उतारचढावले यो धातु सर्वसाधारणको पहुँचभन्दा टाढा पुगेको देखिए पनि विश्लेषकहरू दीर्घकालीन दृष्टिमा आशावादी छन्। उनीहरूका अनुसार सन् २०२६ को अन्त्यसम्म सुनको मूल्य प्रति औंस ६ हजार ३ सय डलरसम्म पुग्न सक्ने सम्भावना अझै कायम छ।