काठमाडौं । दोलखाको कालिन्चोकमा सञ्चालन हुने कालिन्चोक दर्शन कम्पनीको व्यापार सन् २०२५ मा सन् २०२४ को तुलनामा ७ प्रतिशतले घटेको छ। कम्पनीले सन् २०२४ मा ८ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२५ मा ७ करोड ९० लाख रुपैयाँको व्यापार गरेको जनाएको छ। कम्पनीका अनुसार गत आवको व्यापार घट्नुको मुख्य कारण हावाहुरीका कारण पर्यटकको आगमनमा कमी हुनु हो।
गत आवमा कम्पनीमा १ लाख ५३ हजार ७ सय ९७ जना पर्यटकको आगमन भएको थियो। यसैबीच कम्पनीले गत आवमा ६५.४८ प्रतिशत नाफा कमाएको जनाएको छ। तर, चालु आर्थिक वर्षमा व्यापारमा सुधार देखिएको छ। कम्पनीले चालु आवको पहिलो ६ महिनामा गत आवको सोही अवधिको तुलनामा २१ प्रतिशतले बढी व्यापार गरेको छ। गत आवको ६ महिनामा ३ करोड १० लाख रुपैयाँ आम्दानी भएको थियो भने चालु आवको सोही अवधिमा ३ करोड ५० लाख रुपैयाँ आम्दानी भएको छ। त्यस्तै, चालु आवमा ७१ हजार ९ सय ८५ जना पर्यटकले कालिन्चोक भ्रमण गरेका छन्।
कालिन्चोक दर्शन कम्पनी सन् २०१५ मा स्थापना भएको हो र दोलखामा केबलकार सेवा सञ्चालन गर्दै आएको छ। कम्पनीले कुरी भ्यालीदेखि कालिन्चोक मन्दिरसम्म ४ वटा गोन्डोलाबाट प्रतिघण्टा १ सय ९२ जना यात्रुलाई सेवा दिँदै आएको छ।
कम्पनीले केबलकारसँगै होटल सेवा सञ्चालन गर्ने उद्देश्यले होटल निर्माणको योजना अघि बढाएको छ। ३५ करोड रुपैयाँ लगानीमा ३० कोठाको सुविधा सहितको होटल निर्माण कार्य हाल योजनाअनुसार जारी छ। होटल निर्माणका लागि कम्पनीले १:१ अनुपातमा राइट सेयर जारी गरी इक्विटीमार्फत लगानी गर्ने योजना बनाएको छ।
गत आवको अन्त्यसम्म कम्पनीको चुक्ता पूँजी ६३ करोड रुपैयाँ पुगेको छ, जुन बोनस सेयर जारी भएपछि ६० करोड रुपैयाँबाट वृद्धि भएको हो।
