काठमाडौँ । नेपालको चेन हस्पिटालिटी क्षेत्रमा अग्रणी संस्थाका रूपमा स्थापित सिद्धार्थ हस्पिटालिटी २८औँ वर्षमा प्रवेश गरेको छ। सन् १९९८ मा कैलालीको टीकापुरबाट एक साधारण होटलका रूपमा सुरु भएको यो ग्रुपले समयक्रममा देशभर आफ्नो उपस्थिति विस्तार गर्दै आतिथ्य सेवासँगै सामाजिक उत्तरदायित्वलाई संस्थाको मूल कार्यदिशा बनाउँदै आएको छ।
२८औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सिद्धार्थ ग्रुपका अध्यक्ष चिन्तामणि न्यौपानेले दीर्घकालीन व्यवसायिक सफलताको आधार समाजसँगको सम्बन्ध भएको बताए। “हस्पिटालिटी केवल सेवा दिने क्षेत्र मात्र होइन, समाजप्रति जिम्मेवार बन्ने माध्यम पनि हो। जहाँ–जहाँ सिद्धार्थ ग्रुप विस्तार हुन्छ, त्यहीँ स्वास्थ्य, शिक्षा र वातावरण संरक्षणका क्षेत्रमा योगदान पुर्याउने हाम्रो स्पष्ट नीति छ,” उनले भने।
सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्ण न्यौपानेले सिद्धार्थ हस्पिटालिटीको यात्रा केवल व्यावसायिक विस्तारमा सीमित नभई सामाजिक कार्य, पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र स्थानीय समुदायसँगको सहकार्यमा आधारित रहेको उल्लेख गरे।
पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको यस ग्रुपले आफ्नै लगानीमा होटल सञ्चालन गर्नुका साथै विभिन्न कम्पनीसँग सहकार्य गरी करिब तीन दर्जन आउटलेट सञ्चालन गर्दै आएको छ। हाल ग्रुपमार्फत देशभर करिब २ हजार ५ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।
हाल सिद्धार्थ हस्पिटालिटीअन्तर्गत पाँचतारे, चारतारे र तीनतारे स्तरका होटल, रिसोर्ट, कटेज तथा क्याफे सञ्चालनमा छन्। पाँचतारे श्रेणीमा ‘सिद्धार्थ विलासा’, चारतारेमा ‘सिद्धार्थ वैभव’ र तीनतारेमा ‘सिद्धार्थ बाटिका’ ब्रान्ड स्थापित भइसकेका छन्। साथै सिद्धार्थ कटेज, सिद्धार्थ क्याफे र नयाँ ब्रान्ड ‘एस होटल’ सञ्चालनको तयारी भइरहेको कम्पनीले जनाएको छ।
शैक्षिक तथा सीप विकासमा पनि ग्रुप सक्रिय छ। लुम्बिनी विश्वविद्यालयसँगको सहकार्यमा हस्पिटालिटी अध्ययनरत विद्यार्थीका लागि ‘पढ्दै–कमाउँदै’ कार्यक्रम सञ्चालन गर्दै आएको छ भने स्थानीय अर्गानिक उत्पादनको प्रयोग र प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको छ। सिद्धार्थ हस्पिटालिटीसँगै सिद्धार्थ ट्रेडिङ कन्सर्न, सिद्धार्थ इन्स्टिच्युट अफ हस्पिटालिटी, सिद्धार्थ बायोटिका (कृषि फर्म) र सर्व टेक्नोलोजीजलगायत कम्पनीमार्फत ग्रुपले विभिन्न क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गरेको छ।
वार्षिकोत्सवको अवसरमा ग्रुपअन्तर्गतका विभिन्न युनिटहरूले देशका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गरेका छन्। सरकारी अस्पतालमा उपचाररत बिरामीलाई जुस तथा फलफूल वितरण, अनाथालय र वृद्धाश्रममा खाद्य सामग्री सहयोग, राउटे समुदाय तथा अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग, रक्तदान कार्यक्रम, स्वास्थ्य शिविर, निःशुल्क आँखा परीक्षण, वृक्षरोपण तथा सार्वजनिक र धार्मिक स्थलहरूमा सरसफाइ अभियान सञ्चालन गरिएको कम्पनीले जनाएको छ। यी कार्यक्रमहरू टिकापुर, धनगढी, नेपालगञ्ज, सुर्खेत, चितवन, दमौली, बुटवल, बौद्ध, बिर्तामोड, बान्दीपुरलगायत विभिन्न स्थानमा स्थानीय समुदायसँगको सहकार्यमा सम्पन्न भएका हुन्।
यसै अवसरमा कर्मचारीहरूमा संस्थाप्रति अपनत्व र उत्तरदायित्वको भावना विकास गर्ने उद्देश्यले ‘मेरो सिद्धार्थ’ अभियानको सुरुआत गरिएको छ। साथै सामाजिक उत्तरदायित्वअन्तर्गत ‘साकार’ संस्थामार्फत स्वास्थ्य, शिक्षा, विपद् राहत तथा समुदाय केन्द्रित कार्यक्रमलाई निरन्तरता दिँदै आएको ग्रुपले आगामी दिनमा पनि व्यावसायिक वृद्धिसँगै सामाजिक प्रतिबद्धतालाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ। वार्षिकोत्सवकै अवसरमा धनगढी जिल्ला प्रहरी कार्यालयलाई एक थान प्रहरी बिटसमेत हस्तान्तरण गरिएको छ।
