बजार अनुगमनमा उपभोक्ता हितको कडाइ

काठमाडौं । नियमित बजार अनुगमनलाई निरन्तरता दिँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकामा गरेको अनुगमनका क्रममा एक फर्मलाई जरिवाना तथा अन्य फर्महरूलाई सुधारात्मक निर्देशन दिएको छ।

विभागका अनुसार स्थलगत अनुगमनका क्रममा कैफियत फेला परेपछि राजेन्द्र राईस मिललाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम कारबाही गर्दै ५० हजार ५०० रुपैयाँ बराबरको जरिवाना गरिएको हो।

यसैगरी, स्वस्तिक नेपाल ट्रेडिङ प्रालिलाई व्यवसायसँग सम्बन्धित आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। कागजातको परीक्षणपछि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने विभागले जनाएको छ।

आइतबार विभागले स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवाला निकायको सहकार्यमा काठमाडौँ र ललितपुरका विभिन्न २१ वटा फर्ममा अनुगमन गरेको थियो। अनुगमनमा परेका कुल फर्ममध्ये २० वटालाई उपभोक्ता हित सुनिश्चित गर्न सुधारात्मक निर्देशन दिइएको विभागको भनाइ छ।

विभागले उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउने उद्देश्यले बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै लैजाने र उपभोक्ता अधिकार उल्लङ्घन हुने गतिविधिमा कडाइ गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।