गण्डकी । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्रमा पछिल्ला २५ वर्षको अवधिमा विदेशी पर्यटकको उल्लेखनीय वृद्धि देखिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार सन् २००१ देखि सन् २०२५ सम्म कुल २६ लाख ३२ हजार ४ विदेशी पर्यटक अन्नपूर्ण क्षेत्र भित्रिएका छन्।
एक्यापको तथ्यांकअनुसार सन् २००१ मा ६५ हजार ३१३ पर्यटक मात्र आएको अन्नपूर्ण क्षेत्रमा सन् २०२५ मा हालसम्मकै उच्च संख्या दुई लाख ९९ हजार ८३१ विदेशी पर्यटक भित्रिएका छन्। यस अवधिमा सबैभन्दा कम पर्यटक आगमन सन् २०२१ मा भएको थियो, जब जम्मा १६ हजार १०५ विदेशीले मात्र यस क्षेत्रको भ्रमण गरेका थिए। कोभिड–१९ महामारीका कारण त्यस वर्ष पर्यटन गतिविधि लगभग ठप्प बनेको थियो।
सन् २००१ देखि २०१० सम्म अन्नपूर्ण क्षेत्रमा वार्षिक एक लाखभन्दा कम विदेशी पर्यटक आगमन हुँदै आएको थियो। सन् २०११ को नेपाल भ्रमण वर्षमा भने पहिलोपटक पर्यटक संख्या एक लाख नाघ्दै एक लाख एक हजार ९०८ पुगेको थियो। त्यसपछि सन् २०१५ मा गोरखा भूकम्पका कारण पर्यटक आगमन घटेर ७८ हजार ९३० मा सीमित भएको थियो।
भूकम्पपछिका वर्षहरूमा क्रमशः सुधार हुँदै गएको पर्यटक आगमन सन् २०२० र २०२१ मा कोरोना महामारीका कारण पुनः घटेको थियो। तर सन् २०२२ देखि अन्नपूर्ण क्षेत्रले पुनः गति लिएको देखिन्छ। सन् २०२२ मा एक लाख २९ हजार ७२३, सन् २०२३ मा एक लाख ९१ हजार ५५८, सन् २०२४ मा दुई लाख ४४ हजार ३९ र सन् २०२५ मा दुई लाख ९९ हजार ८३१ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन्।
एक्यापका प्रमुख डा. रबिन कडरियाका अनुसार सन् २०२५ मा पर्यटक आगमनले नयाँ रेकर्ड कायम गरेको छ। उनका अनुसार गत वर्ष आएका पर्यटकमध्ये दक्षिण एसियाली मुलुकबाट एक लाख ७७ हजार ६२८ र अन्य मुलुकबाट एक लाख २२ हजार २०३ पर्यटक रहेका छन्। “पर्यटक आगमन बर्सेनि बढ्दो क्रममा छ। पदयात्रामा रमाउने पर्यटकदेखि धार्मिक पर्यटकसम्म अन्नपूर्ण क्षेत्र रोज्ने क्रम बढेको छ,” उनले भने।
