वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलनमा पेट्रोलियम पदार्थ र सवारीसाधन आयात प्रमुख स्रोत बनेको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कुल १ खर्ब १६ अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन भएको छ।
यसमध्ये पेट्रोलियम पदार्थको आयातबाट मात्रै ३७ अर्ब ८५ करोड रुपैयाँ राजस्व संकलन भएको छ। दोस्रो ठूलो राजस्व स्रोत यातायातका साधन र तिनका पार्टपुर्जा आयात रहेको छ, जसबाट १३ अर्ब ९८ करोड रुपैयाँ संकलन भएको जानकारी कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले दिएका छन्।
त्यस्तै, फलाम तथा फलामबाट बनेका सामान आयातबाट ६ अर्ब ८३ करोड, कपडा आयातबाट ५ अर्ब २६ करोड, इलेक्ट्रिक मेसिनरी, उपकरण र पार्टपुर्जाबाट ४ अर्ब ९१ करोड, मदिराजन्य पेयपदार्थबाट १ अर्ब ८३ करोड, र शृङ्गार सामग्रीबाट १ अर्ब ८१ करोड रुपैयाँ राजस्व संकलन भएको छ।
उदयसिंह विष्टका अनुसार वीरगञ्ज भन्सार कार्यालयको राजस्व मुख्यतया पेट्रोलियम र सवारीसाधन आयातमा निर्भर छ। संकलित राजस्वले प्रदेश र स्थानीय विकासका लागि महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
