काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक वृद्धिदर बढ्दै जाँदा समाजमा असन्तुष्टि र अस्थिरता बढ्ने जोखिम हुने बताएका छन्।
क्लिकमाण्डुद्वारा आयोजित ‘जेन–जी प्रदर्शनपछिको व्यावसायिक वातावरण’ विषयक अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा गभर्नर पौडेलले फ्रान्स र चीनजस्ता देशमा भएका क्रान्ति तथा विद्रोहको उदाहरण दिँदै आर्थिक वृद्धिको प्रारम्भिक चरणमा स्थायित्व बढ्ने भए पनि वृद्धिदर बढ्दै जाँदा अवसरको असमान वितरणले असन्तुष्टि जन्माउने बताएका छन्।
उनका अनुसार नेपालमा उदारीकरण नीतिका कारण केही व्यक्ति धनी हुँदै गएका छन्, तर यसलाई पर्याप्त रूपमा व्याख्या गर्न नसक्दा समस्या देखिएको छ। नेपालजस्तो देशमा नवप्रवर्तनमा आधारित सम्पत्ति कमाइभन्दा लाइसेन्स र आयातमा आधारित तरिकाले धनी बन्ने परिपाटीले अस्वाभाविक देखिने गरेको उनले उल्लेख गरे।
गभर्नर पौडेलले भने–
“अर्थात् आर्थिक वृद्धिदरहरु अलिअलि सुरु हुने बित्तिकै अस्थिरता देखिन थाल्छ। मान्छेले ‘मैले अवसर पाएँ, अर्काले पाएन’ भन्ने अनुभूति गर्दा असन्तुष्टि र विद्रोह पैदा हुन्छ। फ्रान्स वा चीनमा भएको क्रान्ति त्यसको उदाहरण हो। उदारीकरण गर्दा केही मान्छे धनी हुन सक्छन्, तर हामी त्यसलाई स्पष्ट गर्न सकिरहेका छैनौँ। नेपालमा आयात र लाइसेन्समा आधारित सम्पत्ति कमाउने परिपाटीले पनि यसलाई अस्वाभाविक देखाउँछ।”
उनले नेपालको आर्थिक उदारीकरण प्रक्रिया र यसले निम्त्याउने सामाजिक प्रभावबारे सचेत रहन जरुरी रहेको बताए। साथै, आर्थिक वृद्धिलाई समावेशी बनाउन र अवसरको न्यायोचित वितरण सुनिश्चित गर्न आवश्यक रहेको बताएका छन्, जसले समाजमा विद्रोह वा अस्थिरताको जोखिम कम गर्न मद्दत पुग्ने उनको भनाइ छ।
–न्युज एजेन्सी नेपाल
