काठमाडौँ। सरकारले ज्येष्ठ नागरिकको सम्मानपूर्वक जीवनयापन सुनिश्चित गर्न परिवारबाट कर्तव्य निर्वाह नगर्ने व्यक्तिलाई सार्वजनिक सेवा सुविधाबाट वञ्चित गर्ने कानूनी व्यवस्था बनाउने तयारी गरेको छ।
आईतबार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव श्रद्धा श्रेष्ठले उक्त जानकारी दिइन्। उनले भनिन्, “ज्येष्ठ नागरिकको सम्मानपूर्वक जीवनयापनको लागि परिवारले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ। यदि पारिवारिक जिम्मेवारीबाट पन्छिन्छन् भने सार्वजनिक सेवा सुविधाबाट वञ्चित गर्ने वा बाध्यकारी व्यवस्था गर्न आवश्यक छ। यसलाई राष्ट्रिय नीति, ऐन वा नियममा समेट्न हामी प्रयासरत छौँ।”
सचिव श्रेष्ठले राष्ट्रिय नीतिमा पुस्तान्तरण, अन्तरपुस्ता ज्ञान, सीप र अनुभवको उपयोग गरी उत्पादन र सामाजिक विकाससँग जोडिने मार्गदर्शन समावेश गरिने बताइन्। उनले सरकारले तयार पारिरहेको ज्येष्ठ नागरिक सम्बन्धी नीतिमा यस विषयलाई प्राथमिकताका साथ समेट्ने योजना रहेको स्पष्ट पारिन्।
बैठकमा समितिले ज्येष्ठ नागरिकको जीवन गुणस्तरपूर्ण, सुरक्षित र सम्मानजनक बनाउन थप विशेष व्यवस्थाको आवश्यकता औँल्याउँदै मन्त्रालयसँग विस्तृत छलफल गरेको छ।
– न्युज एजेन्सी नेपाल
