उपभोक्ता हितमा बजार निगरानी बलियो

काठमाडौं । खानेतेल, खाना पकाउने ग्यासलगायत अत्यावश्यक उपभोग्य वस्तुमा कृत्रिम अभाव देखिन थालेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीका विभिन्न स्थानमा स्थलगत अनुगमन तथा निरीक्षणलाई तीव्र बनाएको छ।

विभागका अनुसार उपभोक्तालाई सहज आपूर्ति सुनिश्चित गर्न दैनिक उपभोग्य वस्तुका उत्पादक, विक्रेता, पैठारीकर्ता, सञ्चयकर्ता तथा सेवाप्रदायक फर्म र प्रतिष्ठानहरूमा निरन्तर रूपमा संयुक्त बजार अनुगमन भइरहेको छ। यस कार्यमा अन्य सम्बन्धित तथा सक्षम निकायको समेत सहकार्य लिइएको विभागले जनाएको छ।

उपभोक्तालाई राहत दिने उद्देश्यले उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने कार्यमा संलग्नलाई पहिचान गरी कारबाहीको दायरामा ल्याइँदै आएको विभागले स्पष्ट पारेको छ। पछिल्ला दिनमा विशेषगरी खाना पकाउने ग्यासको अभाव देखाएर उपभोक्तालाई समस्या पर्ने अवस्था आएको भन्दै विभागले यसलाई गम्भीरतापूर्वक लिएको जनाएको छ।

विभागले अनुगमनका क्रममा प्रचलित कानुनविपरीतका गतिविधि भेटिएमा कानुनअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ। नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज रहेको दाबी गर्दै आए पनि उपभोक्ताबाट ग्यास सहज रूपमा नपाएको गुनासो बढेपछि विभागले थप सक्रियता देखाएको हो।

विभागले बजारमा पारदर्शिता र अनुशासन कायम गर्दै उपभोक्ताको हित संरक्षणलाई प्राथमिकतामा राखेर अनुगमनलाई निरन्तरता दिने जनाएको छ।