काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणामा नेपाल आएको कतार चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिजको प्रतिनिधिमण्डलसँग नेपाल र कतारबीच आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा आपसी सहकार्य विस्तारका विषयमा उच्चस्तरीय छलफल भएको छ।
सोमबार सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनीलकुमार सिन्हा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अलिअल अन्सारी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कतार चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एम.ए. अलोबैदली तथा कतार एयरवेजका प्रतिनिधिबीच छुट्टाछुट्टै भेटवार्ता सम्पन्न भएको हो।
पर्यटन मन्त्रालयमा भएको छलफलमा नेपाल–कतार आर्थिक सहकार्य, पर्यटन प्रवर्द्धन, हवाई सेवा विस्तार तथा नागरिक उड्डयन क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत विचार–विमर्श गरिएको थियो। विशेषगरी नेपाल र कतारबीच सिधा हवाई उडानको सङ्ख्या बढाउने, नयाँ गन्तव्य थप गर्ने तथा नेपाल वायुसेवा निगम र कतार एयरवेजबीच सहकार्यका सम्भावनामा छलफल केन्द्रित भएको थियो।
कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिको प्रतिनिधिमण्डल नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिबीच गठन गरिएको संयुक्त व्यवसाय परिषद् (जेबिसी) सम्बन्धी छलफलका लागि आइतबार काठमाडौँ आइपुगेको हो। उक्त परिषद् नेपाल र कतारका निजी क्षेत्रबीच संवाद, व्यावसायिक सहकार्य तथा प्रत्यक्ष लगानी प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको संरचनागत मञ्च हो।
जेबिसीको बैठक यही माघ २६ र २७ गते (फेब्रुअरी ९ र १०) काठमाडौँमा आयोजना हुने कार्यक्रम तय भएको छ। यस बैठकबाट दुई देशका निजी क्षेत्रबीच व्यापार, लगानी र सहकार्यका नयाँ सम्भावनाहरू पहिचान हुने अपेक्षा गरिएको छ।
