काठमाडौं । डेढ वर्ष ‘ग्राउण्डेड’ अवस्थामा रहेपछि निजी क्षेत्रको सौर्य एयरलाइन्सले पुन: उडान सञ्चालन गर्ने भएको छ। कम्पनीले फागुन पहिलो सातादेखि चार्टर उडान शुरू गर्ने तयारी गरेको जनाएको छ।
सौर्य एयरलाइन्सले २०८१ साउन ९ गतेदेखि उडान भरेको थिएन। तत्कालीन दुर्घटनापछि कम्पनी लामो समय थन्किएको थियो। अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणको नेतृत्व परिवर्तनसँगै नियामकले कम्पनीलाई उडान अनुमति दिँदै सहजिकरण गरेको छ।
कम्पनीसँग हाल सञ्चालनयोग्य हालतमा एउटामात्र जहाज छ। अर्को जहाज छ महिनाभित्र तयार भएर नियमित उडानमा प्रयोग हुने बताइएको छ। सौर्य एयरलाइन्ससँग हाल ५० सिट क्षमताका दुई जहाज छन्, जसमध्ये एउटा जहाज साउन ८१ मा दुर्घटनामा परेको थियो।
प्राधिकरणले यो एयरलाइन्सलाई पहिलो पटक २०७१ कात्तिक २७ मा उडान अनुमति दिएको थियो र अहिले अनुमति यही माघ ४ मा नवीकरण गरिएको छ। नयाँ अनुमति अनुसार कम्पनीले काठमाडौं–भद्रपुर, विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीका लागि दुईतर्फी उडान सञ्चालन गर्न सक्नेछ।
कम्पनीले भनेको छ कि चार्टर उडानको सफलता र जहाजको तयारीपछि नियमित उडान पनि शीघ्र सुरु गरिनेछ। यससँगै लामो समय रोकिएका उडान पुन: शुरू हुँदा यात्रुहरूलाई थप सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ।
