एजेन्सी । थाइल्याण्डमा चुनावी सरगर्मी शान्त भएसँगै देशको राजनीतिले नयाँ मोड लिएको छ। चुनावअघि प्रगतिशील ‘पिपल्स पार्टी’को जित निश्चितजस्तै मानिए पनि अन्ततः प्रधानमन्त्री अनुतिन चानभिराकुल नेतृत्वको भुमजाइथाई पार्टी सबैभन्दा ठूलो शक्ति बनेपछि धेरै थाई नागरिक अचम्ममा परेका छन्।
गत आइतबार सम्पन्न निर्वाचनले थाइल्याण्ड राजनीतिक अस्थिरता र कमजोर अर्थतन्त्रको दुष्चक्रबाट तत्काल बाहिर ननिस्कने संकेत दिएको छ। नतिजाअनुसार ५०० सदस्यीय संसद्मा भुमजाइथाई पार्टीले १९४ सिट जित्दै अग्रस्थान हासिल गरेको छ। सन् २०२३ मा ७१ सिट मात्र जितेको यो पार्टीको यो सफलता राजसंस्था र सेना समर्थित अनुदारवादी धारको पछिल्ला वर्षकै सबैभन्दा ठूलो जित मानिएको छ।
सर्वेक्षणमा अगाडि देखिएको पिपल्स पार्टी भने अपेक्षाविपरीत ११६ सिटमै सीमित रह्यो। त्यस्तै, पूर्वप्रधानमन्त्री थक्सिन सिनावत्राको प्रभावमा लामो समय राजनीति गरेको फेउ थाई पार्टी ७६ सिटमा खुम्चिँदै तेस्रो स्थानमा झर्यो।
मिश्रित प्रणालीले बदलेको नतिजा
थाइल्याण्डको मिश्रित निर्वाचन प्रणालीले नतिजामा निर्णायक भूमिका खेलेको विश्लेषकहरू बताउँछन्। मतदाताले क्षेत्रीय उम्मेदवार र पार्टीका लागि छुट्टाछुट्टै मत हाल्ने प्रणालीका कारण राष्ट्रिय रूपमा बढी मत पाएको पिपल्स पार्टी पनि सिट संख्यामा पछि पर्यो। पिपल्स पार्टीले करिब एक करोड मत पाएको थियो, जुन भुमजाइथाईको करिब ६० लाख मतभन्दा बढी हो। तर अधिकांश सिट क्षेत्रीय प्रतिस्पर्धाबाट आउने भएकाले ग्रामीण क्षेत्रमा कमजोर संगठन भएको पिपल्स पार्टी घाटामा पर्यो।
सहरी क्षेत्रमा परिवर्तन र सुधारको माग बलियो देखिए पनि ग्रामीण भेगमा स्थिरता, परम्परा र राष्ट्रवादी मुद्दाले प्रभाव जमाएको देखियो।
अनुतिनको रणनीति सफल
प्रधानमन्त्री अनुतिन चानभिराकुलले सत्तामा रहँदा संगठन विस्तार र गठबन्धन निर्माणमा विशेष ध्यान दिए। उनले अन्य पार्टीका प्रभावशाली नेताहरूलाई आफ्नो पक्षमा ल्याए भने दक्ष टेक्नोक्र्याटहरूलाई मन्त्री बनाएर पार्टीको छवि बलियो बनाए। कम्बोडियासँगको सीमा विवादलाई चुनावी मुद्दा बनाउँदै उनले राष्ट्रवादी मतदातालाई आकर्षित गर्न सफल भए।
अर्कोतर्फ, भ्रष्टाचार मुद्दामा जेलमा रहेका थक्सिन सिनावत्रा चुनावी दौडको केन्द्रमा नरहँदा फेउ थाई पार्टीको लोकप्रियता घटेको देखियो।
अब के सम्भावना?
यस चुनावबाट कुनै पनि दलले एकल बहुमत (२५१ सिट) ल्याउन सकेन। तर १९४ सिटसहित भुमजाइथाई पार्टी सबैभन्दा बलियो अवस्थामा छ। अब फेउ थाई र अन्य साना अनुदारवादी दलहरूसँग मिलेर स्थिर गठबन्धन सरकार बन्ने सम्भावना बलियो देखिएको छ।
विश्लेषकहरूका अनुसार यस्तो गठबन्धनले चार वर्षे कार्यकाल पूरा गर्न सक्छ, जुन थाइल्याण्डमा पछिल्ला दुई दशकमा दुर्लभ मानिन्छ। चुनावले देखाएको सन्देश स्पष्ट छ— थाई मतदाताले तत्कालीन संरचनात्मक सुधारभन्दा स्थिरता र निरन्तरता रोजेका छन्, यद्यपि सुस्त आर्थिक वृद्धि, असमानता र राजनीतिक ध्रुवीकरणजस्ता चुनौतीहरू अझै समाधान हुन बाँकी छन्।
