सलिकोको आम्दानीमा वृद्धि, बीमाशुल्क र पूँजी स्थिति बलियो

काठमाडाैं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले चालू आर्थिक वर्ष २०८२–८३ को दोस्रो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा प्रगति गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार, समीक्षा अवधिमा कुल आम्दानी २२.१७ प्रतिशतले वृद्धि भई १ अर्ब ६० करोड ५३ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा कुल आम्दानी १ अर्ब ३१ करोड ४० लाख रुपैयाँ थियो।

यद्यपि आम्दानी बढे पनि कम्पनीको खुद नाफा ४३.२९ प्रतिशतले घटेर ३ करोड ७३ लाख रुपैयाँ मात्र रहेको छ। गत वर्ष सोही अवधिमा खुद नाफा ६ करोड ५८ लाख रुपैयाँ थियो।

बीमा व्यवसायमा भने उल्लेख्य सुधार देखिएको छ। खुद बीमाशुल्क आर्जन ६१.९४ प्रतिशतले वृद्धि भई १ अर्ब १६ करोड ४५ लाख रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा बीमाशुल्क मात्र ७१ करोड ९१ लाख रुपैयाँ थियो।

कम्पनीको कुल खर्चमा पनि २७.२२ प्रतिशत वृद्धि भएको छ। खर्चमा अभिकर्ता कमिशनको हिस्सा विशेष रूपमा उल्लेखनीय छ, जसमा ११४.६६ प्रतिशत वृद्धि देखिएको छ। अर्कोतर्फ, लगानी तथा कर्जाबाट हुने आम्दानीमा ३३.८७ प्रतिशतको संकुचन आएको वित्तीय विवरणले देखाउँछ। यसैले आम्दानी बढ्दा पनि खुद नाफामा गिरावट आएको हो।

सलिकोको पूँजी र कोष स्थिति बलियो रहेको छ। कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड रुपैयाँ, स्पेशल रिजर्भ २ अर्ब ५५ करोड रुपैयाँ, महाविपत्ति कोष २१ करोड ७१ लाख र जगेडा कोष १० करोड २९ लाख रुपैयाँ रहेको छ।

कम्पनीले ६ अर्ब २७ करोड रुपैयाँ लगानी गरेको छ भने यसको कुल सम्पत्तिको मूल्य १५ अर्ब ५१ करोड रुपैयाँभन्दा माथि रहेको छ।