कनेक्ट किसान र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम बीच समझदारी

काठमाडौँ । नेपाली किसानका कृषि सम्बन्धी समस्या समाधानका लागि अब आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको प्रयोग गरिने भएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (एनएएएमपी) र कनेक्ट किसान प्रालिबीच हालै यस सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको हो।

समझदारी पत्रमा एनएएएमपीका तर्फबाट कार्यक्रम निर्देशक हिक्मतकुमार श्रेष्ठ र कनेक्ट किसानका तर्फबाट निर्देशक राजन दाहालले हस्ताक्षर गरेका हुन्। यस सहकार्यको मुख्य उद्देश्य डिजिटल प्लेटफर्ममार्फत किसानलाई खेतबारीमै प्राविधिक सहायता र परामर्श सेवा उपलब्ध गराउनु रहेको कनेक्ट किसानले जनाएको छ।

सम्झौताअनुसार कनेक्ट किसानले विकास गरेको भ्वाइस तथा टेक्स्टमा आधारित एआई एडभाइजरी प्रणाली कार्यान्वयनमा ल्याइनेछ। यस प्रणालीमार्फत किसानले मल, बीउ, बजार पहुँच, रोग–किरा व्यवस्थापन लगायत खेतीपातीसँग सम्बन्धित समस्यामा तत्काल समाधान वा सुझाव प्राप्त गर्न सक्नेछन्। किसानले आफ्नो मोबाइल फोनमार्फत आवाज वा टेक्स्टका रूपमा समस्या पठाउन सक्ने र एआई प्रणालीबाट तुरुन्तै उत्तर प्राप्त गर्ने व्यवस्था मिलाइएको छ।

हस्ताक्षर कार्यक्रममा बोल्दै कनेक्ट किसानका निर्देशक राजन दाहालले भारतमा एआई प्रविधिको प्रयोगबाट किसानले उत्पादन वृद्धि गरेको उदाहरण प्रस्तुत गर्दै नेपालमा पनि यस प्रविधिले कृषि क्षेत्रमा ठुलो परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। उनका अनुसार किसानले भोगिरहेका नीतिगत समस्या वा थप अनुसन्धान आवश्यक पर्ने रोग–किराका विषयमा एआईमार्फत प्राप्त सूचनालाई एनएएएमपीले नीति निर्माण तथा समस्या समाधानमा प्रयोग गर्नेछ। “हाम्रो एआई प्रणाली किसानलाई व्यक्तिगत रूपमा कृषि सल्लाह दिन सक्षम छ,” दाहालले बताए।

त्यसैगरी, एनएएएमपीका कार्यक्रम निर्देशक हिक्मतकुमार श्रेष्ठले किसानलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यका साथ यो सम्झौता गरिएको स्पष्ट पारे। “यस सहकार्यबाट किसानले खेतबारीमै तत्काल समाधान पाउनेछन् भने जटिल समस्याका लागि प्राविधिक तथा अनुसन्धान टोलीमार्फत थप सहयोग प्रदान गरिनेछ,” उनले भने।