नेपाल मेडिकल कलेज र काठमाडौँ क्यान्सर सेन्टरबीच रेडियोथेरापी सहकार्य

काठमाडौं । क्यान्सर रोगको उपचारलाई अझ प्रभावकारी र सहज बनाउन नेपाल मेडिकल कलेज (एनएमसी) र काठमाडौं क्यान्सर सेन्टरबीच औपचारिक सहकार्य भएको छ । आज भएको समझदारी कार्यक्रममा कलेज र क्यान्सर सेन्टरले क्यान्सर बिरामीलाई रेडियोथेरापी सेवा उपलब्ध गराउने विषयमा सहमति जनाएका छन् ।

नेपाल मेडिकल कलेजमा हाल क्यान्सर विशेषज्ञ डा. रिता महासेठ नेतृत्वको अंकोलोजी युनिट सञ्चालनमा छ । युनिटमा रेडियोथेरापी सेवा बाहेक क्यान्सर उपचारका अन्य सबै सेवा उपलब्ध रहेको डा. महासेठले जानकारी गराइन् ।

समझदारी पत्रमा कलेजको तर्फबाट प्रबन्ध निर्देशक डा. सबिहा यासमिन र क्यान्सर सेन्टरको तर्फबाट अध्यक्ष डा. सिमित सापकोटाले हस्ताक्षर गरेका छन् । डा. यासमिनले दुई संस्थाबीचको सहकार्यले क्यान्सर बिरामीलाई गुणस्तरीय सेवा सहज रूपमा प्राप्त हुने विश्वास व्यक्त गरिन् भने डा. सापकोटाले नेपाल मेडिकल कलेजबाट सिफारिस भएका बिरामीलाई प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए ।

समझदारी अनुसार, नेपाल मेडिकल कलेजले रेडियोथेरापी आवश्यक बिरामीलाई क्यान्सर सेन्टरमा पठाउनेछ । पठाइएका बिरामीले रेडियोथेरापीमा ५ प्रतिशत छुट प्राप्त गर्नेछन् भने अन्य आउटसोर्स सेवामा १० प्रतिशत छुट उपलब्ध हुनेछ ।

साथै, क्यान्सर सेन्टरले गोकर्णेश्वर नगरपालिकाभित्र वा आसपास बसोबास गर्ने बिरामीलाई आवश्यक सेवाका लागि नेपाल मेडिकल कलेजमा सिफारिस गर्ने, कलेजका डाक्टर, नर्स र प्यारामेडिक्सलाई आफ्ना सेवाबारे अभिमुखीकरण दिने लगायत सहकार्यका अन्य पक्षहरू पनि लागू गर्ने समझदारी कायम गरिएको छ ।