माघमा मालपोत राजस्व स्थिर, कारोबारमा क्रमिक संकेत

काठमाडाैं । घरजग्गा कारोबार अपेक्षाकृत सुस्त रहँदा गत पुसको तुलनामा माघ महिनामा मालपोत राजस्वमा सामान्य गिरावट देखिएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभाग का अनुसार देशभरका मालपोत कार्यालयहरूबाट माघ महिनामा कुल ५ अर्ब ९ लाख २४ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

पुस महिनामा ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन भएको थियो। त्यसको तुलनामा माघमा केही कमी आए पनि राजस्व संकलन समग्र रूपमा स्थिर अवस्थामा रहेको विभागले जनाएको छ।

विभागका अनुसार घरजग्गा कारोबारमा अझै अपेक्षित सुधार आउन सकेको छैन। तर सकारात्मक पक्षका रूपमा, गत वर्षको माघ महिनाको तुलनामा यस वर्ष लिखत पारितको संख्यामा भने वृद्धि देखिएको छ। माघ महिनामा देशभरका मालपोत कार्यालयहरूबाट कुल ५० हजार ८३७ वटा लिखत पारित भएको तथ्याङ्कमा उल्लेख छ।

राजस्वका शीर्षकअनुसार हेर्दा रजिस्ट्रेसन दस्तुरबाट सबैभन्दा बढी २ अर्ब ६८ करोड ६९ लाख ४२ हजार ५३२ रुपैयाँ संकलन भएको छ। त्यसैगरी, पुँजीगत लाभकरबाट १ अर्ब ९६ करोड ५५ लाख १२ हजार २६७ रुपैयाँ र सेवा करबापत ३१ करोड ५८ लाख ७२ हजार ४८८ रुपैयाँ राजस्व उठेको छ।

घरजग्गा बजारमा अझै पूर्ण गति नआए पनि लिखत पारितको संख्यामा देखिएको वृद्धि र स्थिर राजस्व संकलनले आगामी महिनामा कारोबार क्रमशः सुधारतर्फ जान सक्ने संकेत दिएको विभागले जनाएको छ।