स्वस्तिक आयलको पुनरुत्थान, व्यापारमा दोब्बर उछाल

काठमाडौं । नेपालको स्थापित खानेतेल उत्पादक स्वस्तिक आयल इन्डष्ट्रिज प्रालि ले सन् २०२५ मा उल्लेख्य व्यापारिक सुधार गर्दै आफ्नो कारोबार १३०.३८ प्रतिशतले बढाएको छ। कम्पनीले सन् २०२५ मा १४ अर्ब ३६ करोड २० लाख रुपैयाँ बराबरको खानेतेल बिक्री गरेको छ, जुन सन् २०२४ को ६ अर्ब २३ करोड ४० लाख रुपैयाँको तुलनामा झन्डै दोब्बर हो।

पछिल्ला वर्षहरूमा उतारचढाव झेलेको कम्पनीले निर्यात विस्तारसँगै नाफामा उल्लेख्य सुधार गर्न सफल भएको हो। यसअघि कम्पनीको कारोबार सन् २०२३ मा ७ अर्ब २ करोड ३० लाख रुपैयाँ र सन् २०२२ मा १२ अर्ब ५१ करोड २० लाख रुपैयाँ रहेको थियो। भारत ले परिष्कृत खानेतेलमा आयात शुल्क बढाएपछि नेपाली उद्योगलाई फाइदा पुग्दा भारततर्फको निर्यात २०२४ को ३५ करोड ८० लाख रुपैयाँबाट बढेर सन् २०२५ मा ६ अर्ब ९२ करोड ५० लाख रुपैयाँ पुगेको छ।

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामै कम्पनीले ६ अर्ब १५ करोड १० लाख रुपैयाँ आम्दानी गरिसकेको छ, जसमा निर्यातको हिस्सा करिब ४७ प्रतिशत रहेको छ। व्यापार वृद्धिसँगै उत्पादन क्षमता उपयोग पनि १८ प्रतिशतबाट बढेर ३६ प्रतिशत पुगेको छ। अघिल्ला दुई वर्ष घाटामा रहेको कम्पनीको सञ्चालन नाफा मार्जिन ५.५६ प्रतिशत र खुद नाफा मार्जिन १.३३ प्रतिशतमा उक्लिएको छ। यसैगरी, सन् २०२३ र २०२४ मा ऋणात्मक रहेको ब्याज तिर्ने क्षमता सन् २०२५ मा १.७८ गुणा पुगेको छ।

यद्यपि, विगतका घाटाका कारण कम्पनीको खुद सम्पत्ति अझै नकारात्मक नै रहेको छ। सन् २०२५ मा प्रवर्द्धकहरूले ३२ करोड रुपैयाँ थप पूँजी लगानी गरे पनि बैंक ऋणमाथिको निर्भरता उच्च छ। कच्चा पदार्थ आयातमा निर्भरता र करिब १०७ दिनको लामो सञ्चालन चक्रका कारण कम्पनीको व्यवसाय उच्च कार्यशील पूँजीमा आधारित रहेको छ।

कम्पनीले कुल १० अर्ब ६ करोड १ लाख रुपैयाँ बराबरको बैंकिङ कर्जा सुविधाका लागि रेटिङ गराएको छ। यसमध्ये १ अर्ब ४५ करोड ४१ लाख रुपैयाँको दीर्घकालीन कर्जाले ‘डबल बी माइनस’ र ८ अर्ब ६० करोड ६० लाख रुपैयाँको अल्पकालीन कर्जाले ‘ए फोर’ रेटिङ प्राप्त गरेको छ।

वि.सं. २०४१ मा स्थापना भएको यो उद्योग नेपालको प्रतिष्ठित केएल दुगड समूह अन्तर्गत सञ्चालनमा छ। विराटनगर मा रहेको कारखानाको वार्षिक प्रशोधन क्षमता १ लाख ३५ हजार मेट्रिक टन (भटमास, पामोलिन, सूर्यमुखी तेल र घ्यू) तथा १० हजार मेट्रिक टन तोरीको तेल रहेको छ। कम्पनीले स्वस्तिक, धारा, सनफ्लो, संगम र बिगुल ब्रान्डमार्फत नेपाली तथा भारतीय बजारमा आफ्नो उपस्थिति मजबुत बनाउँदै आएको छ।