श्री एयरलाइन्सको धनगढी उडान फर्कियो, यात्रुलाई वैकल्पिक व्यवस्था

  • Clock icon
    २०८२ फाल्गुन ५, मंगलवार

काठमाडौं । श्री एयरलाइन्सको धनगढीका लागि उडेको जहाज गन्तव्यमा अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौं फर्किएको छ। काठमाडौंबाट उडेको जहाज अवतरण असफल भएपछि यात्रुहरू केही समय विमानस्थलमै अलपत्र परेका थिए।

एयरलाइन्सका अनुसार उक्त जहाज सोमबार राति ९:४५ बजे काठमाडौंबाट धनगढीका लागि उडेको थियो। धनगढी विमानस्थलमा पटक–पटक अवतरणको प्रयास गर्दा पनि सम्भव नभएपछि जहाज राति करिब १२:०० बजे काठमाडौं फिर्ता भएको हो। जहाजमा चालक दलका सदस्यसहित ८० जना यात्रु सवार थिए।

जहाज काठमाडौं फर्किएपछि केही यात्रुले विमानस्थलमा असन्तुष्टि जनाए पनि एयरलाइन्सले तत्काल वैकल्पिक व्यवस्था गरेको जनाएको छ। एयरलाइन्सका कर्मचारी सागर पौडेलका अनुसार टिकट फिर्ता लिन चाहने यात्रुलाई पूरा रकम फिर्ता गरिनेछ भने गन्तव्यतर्फ जान चाहने यात्रुलाई मंगलबार बिहानको उडानमार्फत धनगढी पठाइने व्यवस्था मिलाइएको छ।

प्राविधिक वा मौसमजन्य कारणले अवतरण हुन नसकेको अनुमान गरिएको छ भने यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै जहाज काठमाडौं फर्काइएको एयरलाइन्सले स्पष्ट पारेको छ।

  • Clock icon
    २०८२ फाल्गुन ५, मंगलवार