चितवन । चितवनको भरतपुर विमानस्थलमा हवाई इन्धन ‘रिफिलिङ’ सेवा सुरु भएको छ। नेपाल आयल निगम लिमिटेडले बुधबारदेखि औपचारिक रूपमा यो सेवा सञ्चालनमा ल्याएको हो।
निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले भरतपुरबाट हुने हवाई यात्रुको चाप बढ्दै गएकाले रिफिलिङ काउन्टर सञ्चालनमा ल्याइएको जानकारी दिए। हवाई इन्धनको अभावले यात्रु र उडानतालिकामा कुनै असुविधा नहोस् भन्ने उद्देश्यले सेवा सुरु गरिएको उनले बताए।
उनका अनुसार हाल भरतपुर विमानस्थलबाट दैनिक आठवटा उडान भइरहेका छन्। उडानको आवश्यकता अनुसार सहज रूपमा इन्धन भर्न सकिने गरी आवश्यक व्यवस्था मिलाइएको छ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरले भरतपुरमा दुईवटा रिफिलिङ काउन्टर स्थापना गरिएको जानकारी दिए। ती काउन्टरबाट दैनिक करिब २२ हजार लिटर हवाई इन्धन उपलब्ध गराउन सकिनेछ। प्रारम्भिक चरणमा निगमको सिनामङ्गल कार्यालयअन्तर्गत रहेका ६ जना कर्मचारीमार्फत सेवा सञ्चालन गरिएको उनले बताए।
हाल यहाँबाट दैनिक रूपमा भरतपुर–काठमाडौं–भरतपुर उडान हुँदै आएको छ भने आंशिक रूपमा भरतपुर–पोखरा–भरतपुर उडान पनि सञ्चालनमा छ।
बुद्ध एयरका भरतपुर स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतले रिफिलिङ काउन्टर स्थापना भएपछि यात्रु र जहाज दुवैका लागि सेवा सहज बनेको बताए।
“अब जहाजले काठमाडौंबाट अतिरिक्त तेल बोकेर आउनु पर्ने समस्या हटेको छ, जसले गर्दा थप यात्रु ल्याउन सम्भव भएको छ,” उनले भने।
इन्धन सेवा सुरु भएसँगै भरतपुर विमानस्थलको सञ्चालन क्षमता बढ्ने र चितवन क्षेत्रको हवाई आवागमन अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।
