काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि माघ मसान्तसम्म नेपालले कुल वैदेशिक व्यापार १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख ३६ हजार रुपैयाँ पुगेको छ, जसले गत वर्षको सोही अवधिको ११ खर्ब १५ अर्ब ७९ करोड २५ लाख २९ हजार रुपैयाँको तुलनामा १५.७६ प्रतिशत वृद्धि देखाएको छ।
आयात र निर्यात दुवैमा वृद्धि
भन्सार विभागका अनुसार माघ मसान्तसम्म नेपालले ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाख १३ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ। यसले गत आवको ९ खर्ब ८८ अर्ब ५८ करोड ७७ लाख रुपैयाँ बराबरको आयातको तुलनामा १३.६५ प्रतिशत वृद्धि देखाएको छ।
त्यस्तै, निर्यातमा उल्लेख्य सुधार आएको छ। नेपालबाट १ खर्ब ६८ अर्ब १४ करोड ५८ लाख २४ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ, जुन गत आवको सोही अवधिको १ खर्ब २७ अर्ब २० करोड ४८ लाख २९ हजार रुपैयाँको तुलनामा ३२.१९ प्रतिशतले वृद्धि भएको हो।
व्यापार घाटा बढ्यो
यद्यपि निर्यातमा सुधार आए पनि व्यापार घाटा १०.९१ प्रतिशतले बढेको छ। माघ मसान्तसम्म व्यापार घाटा ९ खर्ब ५५ अर्ब ३४ करोड ३ लाख ८९ हजार रुपैयाँ पुगेको छ, जुन गत आवको ८ खर्ब ६१ अर्ब ३८ करोड २८ लाख ७१ हजार रुपैयाँ बराबर थियो।
आयात–निर्यात संरचना
विभागका अनुसार चालु आर्थिक वर्षको सात महिनामा कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६.९८ प्रतिशत र निर्यातको हिस्सा १३.०२ प्रतिशत रहेको छ।
विशेषज्ञहरूले निर्यात वृद्धिलाई सकारात्मक संकेतका रूपमा लिंदै, आयात नियन्त्रण र उत्पादन वृद्धि मार्फत व्यापार घाटा कम गर्ने रणनीति आवश्यक रहेको औँल्याएका छन्।
