गुल्मी । गुल्मीस्थित रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटक मात्र हवाई उडान हुने भएको छ। नेपाल वायु सेवा निगमले उडान तालिकामा परिवर्तन गर्दै बिहीबारको उडान हटाएको हो।
यसअघि निगमले आइतबार, मङ्गलबार, बिहीबार र शनिबार गरी सातामा चारपटक उडान गर्दै आएको थियो। तालिका संशोधनसँगै अब आइतबार, मङ्गलबार र शनिबार मात्रै उडान हुनेछ। रेसुङ्गा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाका अनुसार जहाज अभावका कारण केही समयका लागि तालिका परिवर्तन गरिएको हो।
हाल निगमसँग तीनवटा मात्र ट्वीनअटर जहाज रहेका छन्। ती जहाज समय–समयमा मर्मत गर्नुपर्ने भएकाले नियमित तालिकामा दबाब परेको बताइएको छ। वर्षात्, खराब मौसम तथा बाक्लो हुस्सुबाहेक पछिल्ला तीन महिनादेखि रेसुङ्गामा नियमित उडान हुँदै आएको छ।
रेसुङ्गा विमानस्थलमा १८ सिट क्षमताको ट्वीनअटर जहाजमार्फत काठमाडौँबाट बिहान ६:३० बजे र रेसुङ्गाबाट बिहान ७:३० बजे उडान हुने गर्दछ। काठमाडौँ–गुल्मी भाडादर रु ७,५०० र गुल्मी–काठमाडौँ भाडादर रु ७,३०० तोकिएको छ। दिउँसो अत्यधिक हावाको चाप रहने भएकाले प्राविधिक कारणले बिहानको समयमा मात्र उडान सञ्चालन गरिन्छ।
हवाई सेवा सुरु भएपछि जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक आगमन बढ्दो क्रममा रहेको छ। यसअघि राजधानी पुग्न करिब १८ घण्टा लाग्ने यात्रालाई अब करिब ४५ मिनेटमै पूरा गर्न सकिने भएपछि स्थानीयवासीलाई सहजता थपिएको छ।
