पेट्रोलमा इथानोल मिश्रण कार्यक्रम कार्यान्वयनतर्फ

  • Clock icon
    २०८२ फाल्गुन ११, सोमबार

काठमाडौं । देशमा पेट्रोलमा इथानोल मिसाउने सरकारी निर्णय अब कार्यान्वयनको चरणमा पुगेको छ। नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले लामो समयदेखि तयारी भइरहेको यो कार्यक्रम अब पछि हट्ने अवस्था नभएको बताएका छन्।

उनका अनुसार, २० वर्षदेखि तयारी गरिएको योजना अब लागू हुँदैछ र पूर्ण कार्यान्वयनमा आउन करिब १–२ वर्ष लाग्ने अनुमान छ। इथानोलको गुणस्तर मापदण्ड तय गर्न अहिले तयारी भइरहेको उनले बताए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले पेट्रोलमा इथानोल मिश्रण व्यवहारिक भएको अध्ययनका आधारमा गरिएको निर्णय सरकारबाट आएको जानकारी दिए। उनले भारतसँग खुला नाका भएकाले मूल्य उतारचढावको प्रभाव र गुणस्तर सुनिश्चित गर्न विशेष ध्यान दिनुपर्ने बताए।

उद्योग मन्त्रालयका सहसचिव शिवराम पोखरेलले मन्त्रिपरिषद्ले गत पुसमा पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने निर्णय गरेको र हालसम्म नेपालमा व्यावसायिक रूपमा इथानोल उत्पादन नभएको बताए। उनले सरकारले न्यूनतम मूल्य सिफारिस, गुणस्तर निर्धारण र उत्पादनका लागि बोलपत्र आह्वान गर्ने प्रक्रिया अघि बढाउने पनि जानकारी दिए।

कार्यक्रममा उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले मूल्य, गुणस्तर र बजार नियमन स्पष्ट हुनुपर्नेमा जोड दिए। नेपाल चिनी उत्पादक संघका अध्यक्ष सशिकान्त अग्रवालले वार्षिक करिब दुई लाख ४० हजार मेट्रिकटन चिनी खपत हुने भए पनि आन्तरिक उत्पादन दुई लाख मेट्रिकटन मात्र भएको जानकारी दिए। उनले दुई वर्षभित्र आत्मनिर्भर बन्न सकिने सम्भावना रहेको बताए।

  • Clock icon
    २०८२ फाल्गुन ११, सोमबार