काठमाडौं । नेपालको पुँजी बजारमा लगानीको दायरा फराकिलो बनाउँदै गरिमा क्यापिटल लिमिटेडले आगामी फागुन २८ गते (मार्च ११, २०२६) देखि आफ्नो नयाँ म्युचुअल फण्ड योजना ‘गरिमा सुवर्ण योजना’ को सार्वजनिक निष्कासन गर्ने भएको छ। ‘गरिमा म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालित हुने यो एक बन्दमुखी (Closed-end) योजना हो।
इकाई विवरण र सुरक्षित लगानी
यस योजना अन्तर्गत कुल १० करोड इकाई (१०० मिलियन युनिट्स) निष्कासन गरिनेछ, जसको प्रति इकाई अंकित मूल्य १० रुपैयाँ तोकिएको छ।
-
बिउ पुँजी (Seed Capital): कोषको सुरक्षा र संस्थागत प्रतिवद्धताका लागि कुल इकाईको १५ प्रतिशत हिस्सा प्रवद्र्धक र व्यवस्थापकका लागि सुरक्षित गरिएको छ। जसमा कोष प्रवद्र्धक गरिमा विकास बैंकलाई ९० लाख इकाई र योजना व्यवस्थापक गरिमा क्यापिटललाई ६० लाख इकाई छुट्याइएको छ।
-
सर्वसाधारणका लागि: बाँकी रहेका इकाईहरूमा सर्वसाधारणले लगानी गर्न पाउनेछन्।
कसरी र कति दिने आवेदन?
सर्वसाधारण लगानीकर्ताले सी-आश्वा (C-ASBA) प्रणालीमार्फत निकै सहजै यसमा आवेदन दिन सक्नेछन्:
-
न्यूनतम आवेदन: १०० इकाई (अर्थात् मात्र १,००० रुपैयाँ)।
-
अधिकतम आवेदन: ५० लाख इकाई।
-
आवेदन दिने अवधि: यो निष्कासन फागुन २८ गते खुल्नेछ र छिटोमा चैत २ गते बन्द हुनेछ। यदि पूर्ण आवेदन नपरेमा ढिलोमा चैत १२ गतेसम्म आवेदन दिन सकिनेछ।
-
प्रक्रिया: मेरो सेयर (Mero Share) अनलाइन सफ्टवेयर वा आफ्नो बैंकको शाखाबाट आवेदन दिन सकिन्छ।
व्यावसायिक व्यवस्थापन र जोखिम न्यूनीकरण
सेयर बजारको प्राविधिक ज्ञान वा समय नभएका लगानीकर्ताका लागि यो योजना उत्कृष्ट विकल्प हो। संकलित १ अर्ब रुपैयाँलाई गरिमा क्यापिटलका विज्ञहरूले सुरक्षित कम्पनीका सेयर (Blue-chip Equities), ऋणपत्र (Debentures), र सरकारी बन्डहरूमा विविधीकृत लगानी गर्नेछन्। यसले गर्दा कुनै एक क्षेत्रमा गिरावट आउँदा पनि लगानीकर्ताको जोखिम कम हुन्छ।
तरलता र पारदर्शिता
यो योजना नेपाल धितोपत्र बोर्ड (SEBON) को नियमनमा रहनेछ। इकाईहरू बाँडफाँट भएपछि नेपाल स्टक एक्सचेन्ज (NEPSE) मा सूचीकृत हुनेछन्, जसले गर्दा लगानीकर्ताले चाहेको समयमा दोस्रो बजारमा आफ्नो लगानी बिक्री गरी नगद फिर्ता लिन सक्नेछन्। साथै, कम्पनीले साप्ताहिक र मासिक रूपमा यसको खुद सम्पत्ति मूल्य (NAV) सार्वजनिक गर्नेछ।
