काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड ले सामाजिक उत्तरदायित्वअन्तर्गत धनगढीमा निःशुल्क जलन उपचार शिविर सञ्चालन गर्ने भएको छ। बैंकले सुषमा कोइराला मेमोरियल अस्पताल र सेती प्रादेशिक अस्पताल सँगको संयुक्त आयोजनामा फागुन १२ देखि १४ गतेसम्म सेती प्रादेशिक अस्पताल परिसरमा ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन गर्न लागेको हो।
बैंकका अनुसार जलनका कारण दीर्घकालीन समस्या भोगिरहेका विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकलाई लक्षित गर्दै शिविर आयोजना गरिएको हो। शिविरमार्फत १२० जनाभन्दा बढी लाभग्राही लाभान्वित हुने अपेक्षा गरिएको छ। परामर्श, उपचार तथा आवश्यक शल्यक्रियासमेत निःशुल्क रूपमा उपलब्ध गराइने जनाइएको छ।
नबिल बैंकले धनगढीबाट सुरु गरिएको यो अभियान क्रमशः अन्य प्रदेशमा समेत विस्तार गर्ने योजना बनाएको छ। पहिलो चरणमा सुषमा कोइराला मेमोरियल अस्पतालसँगको सहकार्यमा विशेषज्ञ चिकित्सक टोली परिचालन गरिनेछ। साथै, शिविर सञ्चालनका लागि कीर्तिपुर अस्पतालअन्तर्गतको फेक्ट नेपालसँग पनि सहकार्य गरिएको बैंकले जनाएको छ।
शिविरमा आगोले पोलेर शरीरको कुनै भाग खुम्चिएको वा चलाउन नमिल्ने अवस्था भएका, कपाल गुमाएकाहरू, हातका औँला टाँसिएका, हात वा खुट्टामा पाँचभन्दा बढी औँला टाँसिएका, विस्फोटमा परी शल्यक्रिया आवश्यक परेका तथा खुट्टाको पैताला भित्र फर्किएको समस्या भएका बिरामीले सेवा पाउनेछन्। जटिल समस्या देखिएका बिरामीलाई काठमाडौँको सांखुस्थित सुषमा कोइराला मेमोरियल अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिनेछ।
सरकारी तथ्यांकअनुसार नेपालमा हरेक वर्ष करिब ५६ हजार जलनसम्बन्धी घटना हुने गरेका छन्। तीमध्ये औसतमा दुई हजार एक सय जनाको मृत्यु हुने गरेको छ। जलनबाट बाँचेकामध्ये धेरैमा जलेको भाग खुम्चिने वा टाँसिने समस्या देखिने गरेको छ, जसले दीर्घकालीन अपाङ्गताको जोखिम बढाउने गरेको छ।
देशका विभिन्न स्थानमा विशेष जलन उपचार केन्द्रको अभावका कारण पीडितहरूले समयमै गुणस्तरीय उपचार पाउन नसक्ने अवस्था रहेको छ। उपचारका लागि काठमाडौँसम्म जानुपर्ने बाध्यताले आर्थिक रूपमा कमजोर परिवारहरू थप मारमा पर्ने गरेका छन्। यस्तो अवस्थामा नबिल बैंकको यो पहलले सुदूरपश्चिम क्षेत्रमा जलन पीडितहरूलाई राहत पुग्ने विश्वास गरिएको छ।
नबिल बैंकले ‘नबिल एसएसई’ मार्फत सामाजिक उद्यमशीलता, विकास र रोजगारी सिर्जनामा योगदान दिँदै दिगो विकासका लक्ष्य हासिल गर्न विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। बैंकले समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित आगामी दिनमा यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।
