काठमाडौं । नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ। समापन समारोह काठमाडौंस्थित होटल ह्यात सेण्ट्रिक मा आयोजना गरिएको थियो।
समारोहको उद्घाटन कम्पनी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले पानसमा दीप प्रज्वलन गरी गरिन्। उनले कम्पनीलाई अग्रस्थानमा पुर्याउन योगदान दिने कर्मचारी, अभिकर्ता, बीमित वर्ग, शुभेच्छुक तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरिन्। सेवाग्राहीलाई उच्चस्तरीय र सर्वसुलभ सेवा प्रदान गर्ने लक्ष्यअनुसार कर्मचारीलाई प्रविधिमा दक्ष बनाउने दिशामा कम्पनीले विशेष ध्यान दिएको उल्लेख गर्दै उनले सम्पूर्ण प्रशासनिक कर्मचारीलाई आर्टिफिसियल इण्टेलिजेन्स (एआई) सम्बन्धी विस्तृत तालिम प्रदान गरिएको जानकारी दिइन्। यस्ता तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिइने उनले बताइन्।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कर्मचारी, अभिकर्ता, बीमित तथा अन्य सरोकारवालाको साथ र सद्भावका कारण कम्पनीले छुट्टै पहिचान बनाउन सफल भएको बताए। भविष्यमा पनि यस्तै सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्दै उनले नियामक निकाय तथा सम्बन्धित संस्थाबाट प्राप्त मार्गदर्शनप्रति कृतज्ञता प्रकट गरे।
वार्षिकोत्सवका अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मातृ नेपाल बालगृह, तारकेश्वरमा शैक्षिक सामग्री वितरण गर्नुका साथै त्यहाँ रहेका बालबालिकालाई भोजन गराएको जनाएको छ। साथै रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो। देशभरका प्रदेश तथा शाखा कार्यालयहरूले पनि विभिन्न वृद्धाश्रम, बालकल्याण संस्था र मानव सेवा आश्रमहरूमा सहयोगात्मक कार्यक्रम सञ्चालन गरेका छन्।
कर्मचारीलाई शारीरिक तथा मानसिक रूपमा सशक्त बनाउन अन्तर–कर्मचारी खेलकुद प्रतियोगिता पनि आयोजना गरिएको थियो। प्रतियोगिताअन्तर्गत पुरुष तथा महिलातर्फ क्रिकेट, फुटसल, टेबल टेनिस र बुद्धिचाल लगायतका खेल सम्पन्न गरिएका थिए।
समापन समारोहमा विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति प्रस्तुत गरिएको थियो। अध्यक्ष सिंहले खेलकुद प्रतियोगिताका विजेता कर्मचारीलाई पदक तथा प्रमाणपत्र, रक्तदान गर्ने कर्मचारीलाई प्रमाणपत्र र नृत्य प्रस्तुति दिने कर्मचारीलाई मायाको चिनो प्रदान गरिन्।
सामाजिक प्रतिबद्धता, प्रविधि सशक्तिकरण र कर्मचारी अभिवृद्धिलाई केन्द्रमा राख्दै कम्पनीले ३९औं वर्ष उत्साहपूर्वक मनाएको जनाएको छ।
