काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल ले देशभरका उद्योगी, व्यवसायी र गैरआवासीय नेपाली (एनआरएन) सँगको संलग्नतामा १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेण्ट पब्लिक लिमिटेड (एनडीपी) कम्पनी सञ्चालनमा ल्याउन सफल भएको बताएका छन्।
राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले बताए अनुसार, एनडीपी कम्पनी मार्फत ७७ जिल्लामा रहेका उद्यमी र नवप्रवर्तकहरूले आवश्यक पुँजी प्राप्त गर्न सक्नेछन्। कम्पनीको मुख्य उद्देश्य नवप्रवर्तनलाई प्रवद्र्धन गर्दै देशमा उद्योग र व्यवसायको द्रुत विकासमा सहयोग पुर्याउनु हो।
ढकालले भने, “व्यवसायी र एनआरएनसहितको एनडीपी कम्पनी १० अर्ब पुँजीको नेपाल उद्योग महासंघकै पहलमा सञ्चालनमा आएको छ। कम्पनीले ७७ जिल्लाका उद्यमी तथा नवप्रवर्तनकर्तालाई लगानी उपलब्ध गराउनेछ। १० अर्बको पेड अप क्यापिटललाई इक्विटी मान्दा ४०–५० अर्ब बराबरका ठूला परियोजनामा लगानी गर्न सकिने अवस्था तयार भइसकेको छ।”
साथै, अध्यक्ष ढकालले आफ्नो कार्यकालमा उद्योगीहरूको दीर्घकालीन समस्या समाधानका लागि अर्धन्यायिक आयोग गठनको पहल गरेको र आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउन आग्रह गरे। उनले विशेषगरी डेडिकेटर लाइनको भुक्तानीसम्बन्धी समस्यालाई समाधान गर्न महासंघले लामो समयदेखि प्रयास गर्दै आएको बताए।
एनडीपी कम्पनीको सञ्चालनले नेपालका विभिन्न जिल्लामा उद्यमशीलता, नवप्रवर्तन र ठूला व्यावसायिक परियोजनामा लगानीको वातावरण सृजना गर्ने अपेक्षा गरिएको छ।
