काठमाडौं । सन् २०२२ मा स्थापना भएको इन्टरनेट सेवा प्रदायक कम्पनी वाई-फाई नेपालले छोटो समयमै १ लाख परिवारलाई सेवा प्रदान गर्दै उल्लेखनीय सफलता हासिल गरेको छ। तीन वर्षको अवधिमा कम्पनीले आफूलाई सस्तो र भरपर्दो इन्टरनेट सेवा प्रदायकका रूपमा स्थापित गर्न सफल भएको जनाएको छ।
मध्यम वर्गीय तथा साना परिवारलाई लक्षित गर्दै सेवा सुरु गरेको कम्पनी हाल देशभर १०० भन्दा बढी शहरहरूमा विस्तार भइसकेको छ। ४० भन्दा बढी सम्पर्क कार्यालयमार्फत गुणस्तरीय ग्राहक सेवा प्रदान गर्दै आएको वाई-फाई नेपालले २०२६ मा तीन वर्ष पूरा गरेको छ।
कम्पनीले देशभर ५०० भन्दा बढी कर्मचारीमार्फत आफ्नो सेवा अझ प्रभावकारी बनाउँदै लगेको जनाएको छ। स्थापनाकालदेखि नै आफूलाई केवल इन्टरनेट सेवा प्रदायकका रूपमा मात्र नभई ‘डिजिटल साथी’ का रूपमा प्रस्तुत गर्दै आएको कम्पनीले सहज रूपमा इन्टरनेट उपभोग गर्न कठिनाइ भोगिरहेका परिवारलाई प्राथमिकतामा राखेको उल्लेख गरेको छ।
सस्तो तथा सुलभ दरमा भरपर्दो इन्टरनेट उपलब्ध गराउँदै वाई-फाई नेपालले मध्यम वर्गीय परिवार, साना उद्यमी–व्यवसायी तथा विद्यार्थीहरूको विश्वास जित्न सफल भएको दाबी गरेको छ। छोटो अवधिमै १ लाख ग्राहक जोडिनु नेपालमा गुणस्तरीय इन्टरनेटप्रतिको बढ्दो आवश्यकता र विश्वासको संकेत भएको कम्पनीको भनाइ छ।
सन् २०२५ मा कम्पनी नेपालकै उत्कृष्ट १० इन्टरनेट सेवा प्रदायकको सूचीमा पर्न सफल भएको थियो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत शत्रुहन पञ्जीयारले ग्राहकप्रति कृतज्ञता व्यक्त गर्दै सेवा अझ गुणस्तरीय बनाउँदै देशभर विस्तार गर्ने प्रतिबद्धता जनाए। “ग्राहक महानुभावहरूले वाई-फाई नेपालप्रति देखाउनुभएको माया र विश्वासका लागि हामी आभारी छौं। यो सफलताले हामीलाई अझै प्रभावकारी सेवा विस्तार गर्न हौसला दिएको छ,” उनले भने।
कम्पनीले आगामी दिनमा अझ धेरै समुदायसम्म पहुँच विस्तार गर्दै डिजिटल पहुँचको अन्तर घटाउने र सबैलाई डिजिटल अवसरमा जोड्ने लक्ष्यसहित अघि बढिरहेको जनाएको छ।
