पाल्पा सिमेन्टको आईपीओमा आज अन्तिम मौका

  • Clock icon
    २०८२ फाल्गुन १५, शुक्रबार

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीजको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)मा आवेदन दिने आज (फागुन १५ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले फागुन १२ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो। सो कोटाको बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ खुला गरिएको हो।

कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो।

जसमध्ये १८ लाख ७५ हजार कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र ५ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको थियो। त्यस्तै, २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि र २ लाख ८१ हजार २५० कित्ता शेयर कम्पनीका कर्मचारीका लागि बाँडफाँट गरिएको छ।

अब बाँकी रहेको ४५ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४५ लाख कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरिएको हो।

यस आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिनेछ भने अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाइने व्यवस्था रहेको छ।

  • Clock icon
    २०८२ फाल्गुन १५, शुक्रबार