काठमाडौँ । नेपाल र इरान बीचको व्यापारिक सम्बन्ध सीमित परिमाणमै रहेको देखिएको छ। भन्सार विभाग ले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिना (साउन–माघ) को वैदेशिक व्यापार विवरणअनुसार दुई देशबीचको व्यापार आयातमुखी रहेको हो।
उक्त अवधिमा नेपालले इरानबाट कुल ७३ लाख ५६ हजार रुपैयाँ बराबरका विभिन्न वस्तु आयात गरेको छ। इरानबाट मुख्यतया बिटुमिन, औद्योगिक कच्चा पदार्थ तथा केही विशिष्ट खाद्य सामग्रीहरू नेपाल भित्रिने गरेका छन्।
यता, समीक्षा अवधिमा नेपालले इरानतर्फ केवल ६ लाख ६५ हजार रुपैयाँ बराबरका नेपाली उत्पादन निर्यात गरेको छ। नेपालबाट कृषिजन्य उत्पादन तथा हस्तकलाका केही सामग्रीहरू सीमित मात्रामा निर्यात हुने गरेका छन्। यस आधारमा इरानसँगको व्यापारमा नेपालले ६६ लाख ९१ हजार रुपैयाँ व्यापार घाटा व्यहोरेको तथ्याङ्कमा उल्लेख छ।
यसैबीच, इरान–अमेरिका–इजरायलबीच सुरु भएको नयाँ द्वन्द्व शृङ्खलाले नेपालको प्रत्यक्ष वैदेशिक व्यापारमा तत्काल ठूलो असर पार्ने सम्भावना कम देखिए पनि मध्यपूर्व क्षेत्रको अस्थिरताले दीर्घकालीन प्रभाव पार्न सक्ने आँकलन गरिएको छ।
विशेषगरी, मध्यपूर्वका विभिन्न मुलुकमा कार्यरत नेपाली श्रमिकहरूको रोजगारी, सुरक्षा र रेमिट्यान्स आप्रवाहमा असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ। इरानमा नेपालीहरूको संख्या तुलनात्मक रूपमा न्यून भए पनि क्षेत्रीय अस्थिरताले समग्र आपूर्ति शृङ्खला र श्रम बजारमा प्रभाव पार्न सक्छ।
यदि युद्ध थप चर्किएमा नेपाली श्रमिकहरूको सुरक्षा सुनिश्चित गर्ने, आवश्यक परे उद्धार तथा फिर्ती व्यवस्थापन गर्ने कार्य सरकारका लागि महत्वपूर्ण जिम्मेवारी बन्न सक्ने देखिएको छ। नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारी र रेमिट्यान्सको योगदान उच्च रहेकाले मध्यपूर्वको स्थायित्वप्रति सबैको चासो केन्द्रित भएको छ।
