काठमाडौँ । एनसेल आजियाटा लिमिटेड ले पोखरामा आफ्नो एनसेल सेन्टर पुनः सञ्चालनमा ल्याएको छ। सिर्जना चोकस्थित उक्त सेन्टर जेनजी आन्दोलनका क्रममा तोडफोड भएर क्षति पुगेपछि केही समयदेखि बन्द रहेको थियो।
बिहीबार आयोजित कार्यक्रममा मर्मतसंभारपछि सेन्टरको औपचारिक उद्घाटन गरिएको हो। उद्घाटन कार्यक्रममा एनसेलकी ग्राहक सेवा प्रबन्धक ज्योति दाहाल र पोखरा नुडल्सका मानव संसाधन अधिकृत यम प्रसाद गौतम सहभागी थिए। सेन्टरमा क्षति पुगेपछि कम्पनीले अस्थायी रूपमा एक तल्ला माथि रहेको कार्यालयबाट ग्राहक सेवा प्रदान गर्दै आएको थियो।
उद्घाटन समारोहमा बोल्दै दाहालले पोखरा सेन्टर बन्द हुँदा ग्राहकमा पर्न गएको असुविधाप्रति क्षमा प्रकट गरिन्। उनले ग्राहकलाई उच्चस्तरीय सेवा अनुभव प्रदान गर्न र निरन्तर सेवा सुनिश्चित गर्न सेन्टर पुनः सञ्चालनमा ल्याइएको बताइन्।
यस सेन्टरबाट ग्राहकहरूले एकै स्थानमा विभिन्न सेवा लिन सक्नेछन्। सेवा तथा सुविधाबारे जानकारी, सिम खरिद, इन्टरनेट सेटिङ सम्बन्धी सहयोग, कर्पोरेट सेवा, सिमलाई फोरजीमा स्तरोन्नति, मोबाइल नम्बर परिवर्तन, सिमलाई ईसिममा रूपान्तरण, सीयुजी नम्बर व्यवस्थापन, अन्तर्राष्ट्रिय रोमिङ सुचारु, बिल भुक्तानी, ब्यालेन्स रिचार्ज तथा स्थानान्तरण लगायतका सेवा उपलब्ध हुनेछन्।
पोखरा सेन्टर पुनः सञ्चालनसँगै कम्पनीले स्थानीयस्तरमै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ। हाल एनसेलले देशभर ३१ वटा एनसेल सेन्टरमार्फत ग्राहक सेवा प्रदान गर्दै आएको जनाएको छ।
