काठमाडौं । यही फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका मतदान केन्द्रहरूमा कर्मचारी र सुरक्षाकर्मी परिचालन सुरु गरेको छ। आयोगले यातायात सुविधा पुगेका स्थानका सबै मतदान केन्द्रमा सोमबार अपराह्नसम्म अनिवार्य रूपमा कर्मचारी उपस्थित गराउन निर्देशन दिएको छ।
सडक पहुँच नभएका सुदूरपश्चिम र कर्णालीका विकट क्षेत्रका करिब तीन सय मतदान केन्द्रमा भने सुरक्षाकर्मीसहितको टोली केही दिनअघि नै पुगिसकेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आइतबारसम्म ती क्षेत्रबाट कर्मचारी पुगेको विवरण प्राप्त भइसकेको छ। तुलनात्मक रूपमा सुगम तथा तराईका जिल्लामा सोमबार साँझसम्म सबै कर्मचारी पुगिसक्ने आयोगको विश्वास छ।
मतदान केन्द्रमा पुगेपछि मतदान अधिकृतहरूले तत्कालै आवश्यक तयारीका काम सुरु गर्नेछन्। केन्द्रको चारकिल्ला तोकेर स्पष्ट देखिने गरी सूचना टाँस्ने, निर्वाचन प्रचारप्रसारमा रोक लगाइएको जानकारी गराउने तथा मतदान प्रक्रियालाई व्यवस्थित बनाउन सर्वपक्षीय बैठक आह्वान गर्ने व्यवस्था गरिएको छ।
निर्वाचन सामग्री र मतपत्रको सुरक्षाको जिम्मेवारी नेपाल प्रहरीलाई दिइएको छ। आयोग र प्रहरी प्रधान कार्यालयले मतदान अधिकृत र सिलबन्दी गरिएका सामग्रीहरूलाई चौबीसै घण्टा कडा निगरानीमा राख्न निर्देशन दिएका छन्। मतदान अधिकृतले सुरक्षाकर्मीको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालयबाट सामग्री बुझ्ने व्यवस्था मिलाइएको छ।
कार्यविधिअनुसार एउटा मतदान केन्द्रमा बढीमा एक हजार मतदाता रहनेछन्। मतदाता संख्या बढी भएमा एउटै स्थलमा ‘क’, ‘ख’ वा ‘ग’ गरी अलग केन्द्र तोकिने भए पनि एउटै स्थलमा सातभन्दा बढी केन्द्र राख्न नपाइने प्रावधान छ।
निर्वाचन सम्पन्न भएपछि सबै दलका प्रतिनिधिको उपस्थितिमा मतपेटिका सिलबन्दी गरी मुचुल्का तयार पारिनेछ। त्यसपछि मतदान अधिकृतले मतपेटिका तथा अन्य सामग्री निर्वाचन अधिकृतको कार्यालयमा बुझाएपछि मात्रै खटिएका कर्मचारी र सुरक्षाकर्मीको जिम्मेवारी पूरा भएको मानिने आयोगले स्पष्ट पारेको छ।
