काठमाडौं । परराष्ट्र मन्त्रालयले मध्यपूर्वका विभिन्न देशमा करिब १७ लाख २९ हजार २ सय ८८ नेपाली नागरिक रहेको जनाएको छ। मन्त्रालयका सहसचिव तथा मध्य एशिया, पश्चिम एशिया र अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिँदै त्यहाँ रहेका नेपालीको सुरक्षा नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताए।
मन्त्रालयले मध्यपूर्व क्षेत्रका लागि यात्रा सचेतना सूचना जारी गर्दै नेपाली नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ। सम्बन्धित देशमा रहेका नेपाली नियोग प्रमुखहरूसँग समन्वय गर्न ह्वाट्सएप समूह गठन गरिएको र स्थानीय गतिविधि तथा नेपालीहरूले भोगिरहेका समस्याबारे नियमित अद्यावधिक भइरहेको जनाइएको छ। उद्धार तथा तथ्यांक संकलनलाई व्यवस्थित बनाउन कन्सुलर सेवा विभागमार्फत अनलाइन दर्ता प्लेटफर्म विकासको काम सुरु गरिएको छ। उक्त प्लेटफर्म सबै नियोगको वेबसाइटमा उपलब्ध गराइनेछ।
मुख्यसचिव सुमनराज अर्यालको नेतृत्वमा बसेको सर्वपक्षीय बैठकले परराष्ट्र सचिव अमृतबहादुर राईको नेतृत्वमा सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित आकस्मिक उद्धार टोली गठन गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ। सम्भावित युद्धको अवस्था, अवधि, छिमेकी मुलुकहरूको कदम र सम्बन्धित देशहरूको तयारीका आधारमा उद्धार रणनीति तय गरिने बताइएको छ। आकस्मिक उद्धार संयन्त्रलाई स्थायी र पूर्ण अधिकारयुक्त संरचनाका रूपमा विकास गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ।
देशअनुसार हेर्दा इरानमा रहेका १० नेपालीमध्ये ४ जना स्वदेश फर्किसकेका छन् भने ६ जना त्यहीं छन्। इजरायलमा करिब ६ हजार ५ सय, इजिप्टमा ५ सय, ओमनमा २५ हजार, कतारमा ३ लाख ५७ हजार ९ सय १३, कुवेतमा १ लाख ७५ हजार, बहराइनमा २८ हजार, साउदी अरेबियामा ३ लाख ८४ हजार ८ सय ६५, संयुक्त अरब इमिरेट्समा करिब ७ लाख, लेबनानमा १ हजार ४ सय, इराकमा ३० हजार र साइप्रसमा १७ हजार नेपाली नागरिक रहेका छन्।
मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले हालसम्म प्राप्त जानकारीअनुसार मध्यपूर्वमा रहेका नेपाली सुरक्षित रहेको बताए। त्यहाँ रहेका १० नेपाली नियोगले स्थानीय सरकार र नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रही मन्त्रालयलाई प्रतिवेदन पठाइरहेको जानकारी दिइयो। उनले मध्यपूर्वमा रहेका नेपालीलाई नआत्तिन, सुरक्षित रहन, आफन्तसँग सम्पर्कमा रहिरहन र स्थानीय सरकार तथा दूतावासबाट जारी आधिकारिक सूचनाको पालना गर्न आग्रह गरे। नेपालमा रहेका परिवारजनलाई पनि अपुष्ट सूचना नपछ्याई नियमित सम्पर्कमा रहन अनुरोध गरिएको छ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मध्यपूर्व क्षेत्रमा विकसित घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको बताए। उनले सबै पक्षलाई संयमता अपनाउन, तनाव नबढाउन र सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दै कूटनीतिक संवादमार्फत विवाद समाधान, संयुक्त राष्ट्रसंघको वडापत्र तथा अन्तर्राष्ट्रिय कानुनको पालना र सार्वभौम अधिकारको सम्मान गर्न आह्वान गरिएको जानकारी दिए।
