काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा २ खर्ब ५५ अर्ब ४८ करोड रुपैयाँ बराबरको सार्वजनिक ऋण प्राप्त गरेको छ। अर्थ मन्त्रालय मातहतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु वर्षमा कुल ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा माघ मसान्तसम्म ४२ दशमलव ८९ प्रतिशत ऋण प्राप्ति भएको हो।
कार्यालयका अनुसार आर्थिक वर्षको सुरुआतमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रहेको थियो। माघ मसान्तसम्म आइपुग्दा १ खर्ब ८४ अर्ब ९३ करोडले वृद्धि भई कुल सार्वजनिक ऋण दायित्व २८ खर्ब ५८ अर्ब ९७ करोड पुगेको छ। यो रकम कुल गार्हस्थ्य उत्पादनको ४६ दशमलव ८१ प्रतिशत हुन आउँछ।
कुल सार्वजनिक ऋणमध्ये माघ मसान्तसम्म वैदेशिक ऋणको हिस्सा ५२ दशमलव ८१ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७ दशमलव १९ प्रतिशत रहेको कार्यालयले जनाएको छ। यसले वैदेशिक र आन्तरिक स्रोतबीच सन्तुलित परिचालनको अवस्था देखाएको छ।
यस्तै, चालु आर्थिक वर्षमा ऋण सेवा खर्चतर्फ ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा माघ मसान्तसम्म २ खर्ब ३ अर्ब ६५ करोड रुपैयाँ भुक्तानी भइसकेको छ। यो वार्षिक विनियोजनको ४९ दशमलव ५५ प्रतिशत हो। कुल गार्हस्थ्य उत्पादनको आधारमा हेर्दा माघ मसान्तसम्म ऋण सेवा खर्च ३ दशमलव ३३ प्रतिशत रहेको छ।
