काठमाडौं । प्रविधिको भविष्यलाई केन्द्रमा राख्दै ‘रोबो फेस्ट ४.०’ काठमाडौंमा औपचारिक रूपमा सुरु भएको छ। United Academy द्वारा आयोजित उक्त कार्यक्रमको उद्घाटन डा. कविराज बन्तावा र नरहाङ राईले संयुक्त रूपमा गरेका हुन्।
उद्घाटनपछि आयोजक तथा अतिथिहरूले कक्षा ११ का विज्ञान संकायका विद्यार्थीहरूले तयार पारेका विभिन्न परियोजना अवलोकन गरेका थिए। टिल्ट सेन्सर प्रदर्शनदेखि स्मार्ट हरितगृहसम्मका परियोजनाले युवापुस्ताको सिर्जनशीलता र नवप्रवर्तन क्षमतालाई उजागर गरेका थिए।
अवलोकनका क्रममा डा. बन्तावा र राईले विद्यार्थीहरूसँग प्राविधिक छलफल गर्दै आविष्कारलाई औद्योगिक प्रयोगमा विस्तार गर्ने उपाय, स्वचालनको कार्यक्षमता बढाउने तरिका तथा प्रस्तुतीकरण सीप सुधारबारे सुझाव दिएका थिए। कार्यक्रममा विद्यार्थीले बनाएको मेसिनमार्फत डा. बन्तावाको चित्र कोरिएको दृश्य विशेष आकर्षण बनेको थियो। स्वचालनको शुद्धताबाट प्रभावित हुँदै उनले उक्त विद्यार्थीलाई तत्काल एक सय रुपैयाँ नगद पुरस्कार प्रदान गरेका थिए।
कार्यक्रममा शैक्षिक र व्यावसायिक क्षेत्रको उल्लेखनीय सहभागिता देखिएको थियो। PCPS, Hub International र Clamphook ले आफ्ना प्रविधि योगदान प्रस्तुत गरेका थिए। विशेष आकर्षणका रूपमा Foton Motors द्वारा प्रस्तुत मानवाकृति रोबोट रहेको थियो, जसले विद्यार्थी र अवलोकनकर्तालाई विश्वस्तरको रोबोटिक प्रविधिको झलक दिएको थियो।
कार्यक्रमको अर्को मुख्य आकर्षण ‘रोबो सकर’ र ‘रोबो सुमो’ प्रतियोगिता रह्यो। फुत्सल मैदानमा आयोजित प्रतिस्पर्धामा काठमाडौं उपत्यकाका विभिन्न विद्यालयबीच कडा प्रतिस्पर्धा भएको थियो।
रोबो सकर प्रतियोगितामा प्रथम स्थान युनाइटेड युनिभर्सल स्कुलका श्रियन्स जंग केसीले हासिल गर्दै ३२ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। द्वितीय स्थान प्रज्ञा कुञ्ज स्कुलका ताल रोकायाले २१ हजार रुपैयाँसहित हात पारे भने तृतीय स्थान युनाइटेड स्कुलका किरण खत्रीले १० हजार ५ सय रुपैयाँ पुरस्कारसहित जितेका थिए।
समारोहमा क्यान महासंघ का वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले रोबो फेस्ट ४.० केवल प्रतिस्पर्धा मात्र नभई बाल तथा युवा प्रतिभालाई प्रविधितर्फ आकर्षित गर्ने महत्वपूर्ण मञ्च भएको बताए। उनले विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित शिक्षालाई प्रोत्साहन गरी नेपाललाई विश्व डिजिटल अर्थतन्त्रमा प्रतिस्पर्धी बनाउने आधार तयार पार्नुपर्नेमा जोड दिए।
