विश्व परिस्थिती र नेपाली सार्वभौमिकता सम्झेर भोट गरौँ:महानायक राजेश हमाल

  • Clock icon
    २०८२ फाल्गुन २१, बिहीबार

अभिनेता महानायक राजेश हमालले अहिलेको निर्वाचन अत्यन्त सम्वेदनशील र चुनौतीपूर्ण रहेको भन्दै गहिरोसँग सोचेर मतदान गर्न आह्वान गरेका छन्।

प्रतिनिधि सभा सदस्य निर्वाचनको अघिल्लो दिन एक सन्देश जारी गर्दै अभिनेता हमालले भोट गर्नुअघि नेपालको सार्वभौकिता ख्याल गर्न पनि आग्रह गरेका छन्।

हमालले अहिलेको तनावपूर्ण विशवको चर्चा गर्दै नेपाली सार्वभौमिकता नै नरहने त होइन भन्दै आशंका पनि व्यक्त गरेका छन्।

‘तपाइँहरूलाई थाहै छ, केही वर्षयता र केही दिनयता विश्व अनिश्चितता र अस्थिरताको भूमरीबाट गुज्रिरहेको छ। यस्तो अवस्थामा नेपाली राजनीतिक स्थिरता र ऐक्यवद्धता हाम्रो आवश्यकता मात्रै नभएर सर्भाइबलका लागि समेत खाँचोको विषय बनेको छ। केही वर्षअगाडि पूर्वी युरोपमा भएको आक्रमण, गाजामा भएको विध्वंश र केही दिन अगाडि शक्तिशाली राष्ट्रले आफ्नो मर्जी मुताविक इरानमा गरेको आक्रमणले मध्यपूर्वमा मात्रै नभएर सम्पूर्ण विश्वमा नै हलचल मच्चाइदिएको छ’ उनले भनेका छन्, ‘यो परिस्थितीमा नेपालजस्तो आर्थिक, राजनीतिक अवस्था भएको राष्ट्र अझ सम्वेदनशील अवस्थामा पुगेको छ। कमजोर अवस्थामा पुगेको छ। यो सबैको पृष्ठभूमिमा भोलि नेपाल चुनावमा जाँदैछ।’

हमालले भदौ २३ गतेको नरसंहार र २४ गतेको महाविध्वंश एक आपसमा जोडिएको छ कि भन्ने आशंका गर्दै जनतालाई त्यसबारे अझ स्पष्ट हुन नसकेको बताएका छन्।

‘यो चुनाव भदौ २३ र २४ गतेको घटनाले सिर्जना गरेको चुनाव हो। चुनावको पूर्वसन्ध्यासम्म आइपुग्दा पनि भदौ २३ मा भएको कहालीलाग्दो घटना र भदौ २४ मा भएको राष्ट्रिय सम्पदाको विध्वंशको जवाफदेहिता नेपाली जनसमुदायमा अझ छर्लंङका साथ आएको छैन। अझ स्पष्ट भन्ने हो भने भदौ २३ र २४ गतेको घटना एक आपसमा लिंक (जोडिएका) थिए त भन्ने कुराको जवाफ आइसकेको छैन। र, यही माहोलमा हामी भोलि चुनावमा जाँदै छौँ।’ हमालको भनाई छ।

उनले अहिले पुरना दलप्रतिको छबी धमिलिएको र नयाँ दल अपरिपक्व र स्पष्ट भिजन नदेखिएको उल्लेख गर्दै अत्यन्त सम्वेदनशीलताका साथ मतदान गर्न मतदातासँग आग्रह गरेका छन्।

हमाल भन्छन्, ‘मेरो लागि यो चुनाव अत्यन्त सम्वेदनशील र चुनौतीपूर्ण रहने छ। भोलि भोट गर्दाखेरी मेरो सामुन्ने एक हिसावले चुनौती नै रहने छ। किनकी हाम्रो छनोट पुराना तर राजनीतिक हिसावले परिपक्वता भएका राजनीतिक दलहरूको धमिलिएको छबी र नयाँ भनाउँदा दलको राजनीतिक अपरिपक्वता र राजनीतिक दूरदर्शिता खासै छर्लङ्गका साथ नेपाली जनसमुदायमाझ नआईसकेको परिस्थितीमा हामी भोलि चुनावमा जाँदैछौँ। त्यसैले हरेक सम्वेदनशील नेपाली भोटरको सामु चुनौती छ।’

उनले थपेका छन्, ‘भोलिका दिनमा यदी नेपालमा राजनीतिक स्थिरता आएन, ऐक्यवद्धता आएन भने मलाई लाग्छ कि नेपालको स्वतन्त्रता र सार्वभौममाथि नै आँच आउन सक्छ। त्यसैले भोलि हामी भोटर्सहरूले अत्यन्त सम्वेदनशीलताका साथ र अत्यन्त सुझबुझका साथ जुन आजसम्म पनि हामीमा निहीत शक्ति भोलि हामी कसलाई हस्तान्तरण गर्दैछौँ र भोलि ति व्यक्तिहरूले अहिलेको असाध्यै डगमगाएको विश्वको राजनीतिक अवस्थामा नेपालको स्थान र नेपालको परिस्थितीलाई कसरी अगाडि बढाउनुहुन्छ। भन्ने कुरालाई एकदमै गहिरोसँग सोचेर चुनाव गर्नुपर्ने छ।’