‘नो भोट’ का कारण मतदान केन्द्रमा कर्मचारीमात्र

  • Clock icon
    २०८२ फाल्गुन २१, बिहीबार

प्रतिनिधिसभा निर्वाचनका क्रममा देशका विभिन्न जिल्लाका केही मतदान केन्द्रमा मतदाताहरूले सामूहिक रूपमा निर्वाचन बहिष्कार गरेका छन् । दार्चुला, दाङ र ओखलढुङ्गाका केही मतदान केन्द्रमा स्थानीयले आफ्ना मागहरू सम्बोधन नभएको भन्दै मतदान प्रक्रियामा सहभागी नभएपछि ती केन्द्रहरूमा मतदान कार्य ठप्प भएको छ ।

दार्चुला जिल्लाका दुई वटा मतदान केन्द्रमा बिहानैदेखि एक जना पनि मतदाता मतदानका लागि उपस्थित भएका छैनन् । दार्चुलाका मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार नौगाढ गाउँपालिका–१ नागुस्थित गौरीशंकर माध्यमिक विद्यालय र अपि हिमाल गाउँपालिका–३ को दुधिलास्थित झुक्सु मतदान केन्द्रमा मतदाताहरू पुगेका छैनन् ।

६०२ मतदाता रहेको गौरीशंकर मावि र ३४६ मतदाता रहेको झुक्सु केन्द्रमा निर्वाचन टोलीले सबै तयारी पूरा गरी सुरक्षा व्यवस्था चुस्त राखे पनि कोही पनि मत हाल्न नगएको गिरीले जानकारी दिए ।

स्थानीयले ‘नो भोट’ भन्दै विरोध गरेको सुनिए पनि मतदानमा सहभागी नहुनुको यकिन कारण भने अझै खुल्न सकेको छैन । मुख्य निर्वाचन अधिकृत गिरीले साँझसम्म मतदाताहरू आउने अपेक्षा राख्दै मतदान केन्द्रमा कर्मचारीहरू पर्खेर बसिरहेको बताए ।

यसैगरी दाङको बबई गाउँपालिकाका दुई मतदान केन्द्रमा पनि मतदाताले पूर्ण रूपमा निर्वाचन बहिष्कार गरेका छन् ।
आफ्नो बस्ती स्थानान्तरण हुनुपर्ने माग राज्य र सरोकारवाला निकायले नसुनेको भन्दै बबई गाउँपालिका वडा नम्बर १ को जनता मावि जिला र वडा नम्बर ७ मलईस्थित देउती मावि तल्लो मलई केन्द्रका मतदाताहरू मतदानमा सहभागी नभएका हुन् ।

यसअघि नै बस्ती स्थानान्तरण नभए मतदान नगर्ने घोषणा गरेका उनीहरू बिहीबार मतदान सुरु भएदेखि नै केन्द्रमा देखिएका छैनन् । सुरक्षाकर्मी र कर्मचारीहरू बिहान ७ बजेदेखि नै तयारी अवस्थामा रहे पनि स्थानीयको अडानका कारण ती केन्द्रमा अहिलेसम्म एक मत पनि खस्न सकेको छैन ।

ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ स्थित टोक्सेल मतदान केन्द्रमा पनि स्थानीयले सामूहिक रूपमा मतदान बहिष्कार गरेका छन् । प्रदेश सरकारले सो क्षेत्रमा प्रादेशिक अस्पताल बनाउने आश्वासन दिए पनि काम सुरु नगरेको विरोधमा ७०१ जना मतदाता रहेको सो केन्द्रमा कोही पनि मतदान गर्न नगएका हुन् ।

मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाले सो केन्द्रमा पुग्दा कोही पनि मतदाता फेला नपरेको र स्थानीय ‘नो भोट’ को स्थितिमा रहेको जानकारी दिए । गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले अस्पताल निर्माणको काम नहुँदा स्थानीयमा आक्रोश बढेको बताए ।

मुख्य निर्वाचन अधिकृत कोइरालाका अनुसार यसबारे निर्वाचन आयोगलाई जानकारी गराइसकिएको छ र साँझसम्म मतदाता नआएमा खटिएका कर्मचारीहरूको समानुपातिकतर्फको मत मात्र मुचुल्का उठाएर पठाइने तयारी गरिएको छ ।

  • Clock icon
    २०८२ फाल्गुन २१, बिहीबार