नेपाली कांग्रेसका सभापति गगन थापाले चुनावी पराजयको नैतिक जिम्मेवारी लिएर सभापतिबाट राजीनामा दिने मन बनाएपछि सो पार्टीमा अबका विकल्पमाथि बहस भइरहेको छ।
सभापति थापाले आफूले राजीनामा दिएर उपसभापति विश्वप्रकाश शर्मालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने विकल्प अगाडि सारेका छन्। थापाले शर्मालाई पदबाट राजीनामा दिने जानकारी गराएर पार्टीको जिम्मेवारी लिन आग्रह गरेका थिए।
पार्टीको पराजयको जिम्मेवारी लिएर आफूले पद त्याग गर्नु उचित हुने थापाको धारणा छ।
‘पार्टीको पराजयको जिम्मेवारी लिएर मैले पद त्याग गर्नु उचित हुन्छ, त्यसैले म राजीनामा दिन्छु,’ थापाले भने।
उपसभापति शर्माले भने सभापतिबाट तत्काल राजीनामा नदिन थापालाई सुझाव दिएर कार्यवाहक सभापतिको जिम्मेवारी नलिने संकेत गरेका छन्।
निर्वाचन परिणामलाई केबल व्यक्तिको कमजोरीका रूपमा नभई समग्र परिस्थितिको परिणामका रूपमा बुझ्नुपर्ने शर्माको भनाइ छ।
‘यो केवल रास्वपाको जितभन्दा बढी हाम्रो पराजय हो। तर, यसको दोषी न त केवल एक व्यक्ति हो, न त विशेष महाधिवेशनबाट आएको कार्यसमितिको हो,’ उनी भन्छन्।
पराजयको समग्र र सूक्ष्म समीक्षा गरेर स्थिति सम्हालेर अघि बढ्नुपर्ने भन्दै सभापतिले राजीनामा दिएर पार्टीलाई झनै अप्ठेरो अवस्थामा पुग्न दिनु नहुने शर्माको भनाइ छ।
‘नयाँ कार्यसमिति बनेको ५ दिनमा उम्मेदवारी दर्ता अनि ५० औँ दिनमा चुनाव थियो। त्यसैले पराजयको समग्र र सूक्ष्म समीक्षा गरेर स्थिति सम्हालेर अघि बढ्नुपर्छ, सभापतिले राजीनामा दिएर पार्टीलाई झनै अप्ठेयारो अवस्थामा पुग्न दिनुहुन्न,’ उनी भन्छन्।
पार्टी पराजयको मौकामा पूर्वसभापति शेरबहादुर देउवा पक्षीय नेताहरू भने गगनमाथि नैतिकताको प्रश्न उठाएर पार्टीभित्र गुमेको प्रभाव पुनः फर्काउने रणनीतिमा देखिन्छन्। उनीहरूले विशेष महाधिवेशनको औचित्य र गगन नेतृत्वमा कांग्रेसले भोग्नु परेको पराजयलाई नैतिकताको विषय बनाएका छन्।
नेपालखबरबाट साभार