संरक्षणवाद र एकपक्षीय दृष्टिकोणले अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्यमा जटिल: विद्यादेवी भण्डारी

पूर्वराष्ट्रपति एवं नेकपा एमाले वरिष्ठ नेता विद्यादेवी भण्डारीले संरक्षणवाद र एकपक्षीय दृष्टिकोण विस्तारले अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्यलाई थप जटिल बनाएको बताएकी छन् ।

चीनको उत्तरी हपई प्रान्तस्थित सिओङआन नयाँ क्षेत्रमा आयोजित ग्लोबल गभर्नेन्स फोरम (सिओङआन) लाई आज शनिबार सम्बोधन गर्दै उनले उक्त धारण राखेकी हुन् ।

चिनियाँ जनकूटनीति संस्थाको आयोजनामा भएको उक्त मञ्चमा उनले भनिन्, ‘यस्ता साझा चुनौतीको समाधान कुनै एक राष्ट्रको प्रयासबाट मात्र सम्भव छैन । यसका लागि संवाद, सहकार्य र सामूहिक प्रतिबद्धता आवश्यक छ ।’ संयुक्त राष्ट्र संघको बडापत्र, अन्तर्राष्ट्रिय कानुन र बहुपक्षीयतामा आधारित विश्वव्यवस्थाले अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा र विकासमा महत्वपूर्ण योगदान पुगेको उनको विश्वास छ ।

‘विश्व रूपान्तरणको क्रममा विश्वास र सहकार्यको पुनर्निर्माण : विश्वव्यापी शासन प्रणालीमा सुधार र परिष्कार’ मूल विषय रहेको कार्यक्रमलाई हिजो सम्बोधन गर्दै चिनियाँ विदेशमन्त्री वाङ यीले विश्वव्यापी शासन पहल (ग्लोबल गभर्नेन्स इनिसिएटिभ) अघि सारिएको एक वर्षपछि यसको सान्दर्भिकता झन् बढ्दै गएको बताएका थिए ।

उनले उक्त पहलको परिकल्पनालाई वास्तविकतामा रूपान्तरण गर्न सबै पक्षले प्रयास गर्नुपर्नेमा जोड दिएका छन्।

चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्यसमेत रहेका विदेशमन्त्री वाङले चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्वव्यापी शासनमा देखिएको कमीलाई सम्बोधन गर्न र संयुक्त रूपमा राम्रो भविष्य निर्माण गर्न समाधान प्रस्तुत गर्ने उद्देश्यले विश्वव्यापी शासन पहल अघि सारेको सन्दर्भ उल्लेख गरे ।

वाङले सबै देशले संयुक्त राष्ट्रसंघको केन्द्रीय भूमिकालाई संयुक्त रूपमा कायम राख्नुपर्ने, सुरक्षा परिषद्को शीघ्र प्रतिक्रिया दिने क्षमता बढाउनुपर्ने र विकासशील देशका जायज चासोलाई सम्बोधन गर्नुपर्ने बताएका छन् । प्रमुख शक्तिराष्ट्रहरूले समानता, विश्वसनीयता, नैतिक सिद्धान्त र सहकार्य कायम राख्न उदाहरण प्रस्तुत गर्नुपर्ने उनको भनाइ थियो।

सम्मेलनमा संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संगठनका प्रतिनिधिसहित ९० भन्दा बढी देशका रणनीतिक, राजनीतिक, शैक्षिक, व्यावसायिक, सञ्चारमाध्यम र युवा क्षेत्रका करिब चार सय प्रतिनिधि सहभागी छन् ।