काठमाडौँ । नेपाल आयल निगमले भोलि अर्थात् फागुन २९ गतेदेखि लागू हुने गरी उपभोक्तालाई आधा सिलिण्डर मात्र ग्यास बिक्री गर्ने निर्णय गरेको छ। आपूर्ति व्यवस्थापनलाई सहज बनाउँदै सबै उपभोक्ताको भान्सासम्म ग्यास पुर्याउने उद्देश्यले निगमले यस्तो व्यवस्था लागू गरेको जनाएको छ।
मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी प्रभाव परेको भन्दै निगमले सावधानीस्वरूप नयाँ व्यवस्था ल्याएको हो। हालको परिस्थितिलाई ध्यानमा राख्दै आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन प्रति सिलिण्डर ७ दशमलव १ केजी मात्र ग्यास भर्ने निर्णय गरिएको निगमले जनाएको छ।
निगमका अनुसार आधा भरिएको सिलिण्डरको मूल्य प्रति सिलिण्डर ९ सय ५५ रुपैयाँ निर्धारण गरिएको छ। अर्को निर्णय नभएसम्मका लागि यही व्यवस्था लागू रहने पनि निगमले स्पष्ट पारेको छ।
निगमका अनुसार पछिल्ला दुईदेखि तीन महिनायता काठमाडौँ उपत्यकामा ग्यासको माग अत्यधिक बढेको छ। भारतमा समेत ग्यास अभाव हुन सक्ने समाचार सार्वजनिक भएपछि नेपालमा धेरै उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास खरिद गरी घरमै भण्डारण गर्न थालेका कारण बजारमा अभाव देखिएको निगमको भनाइ छ।
आपूर्ति सहज बनाउन र सबै उपभोक्ताको भान्सामा ग्यास उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था लागू गरिएको भन्दै निगमले आम उपभोक्तालाई आवश्यकताअनुसार मात्र आधा सिलिण्डर ग्यास खरिद गरी सहयोग गर्न आग्रह गरेको छ।

