२७ औं फ्लोरा एक्स्पोमा १ करोड २० लाखभन्दा बढीको कारोबार हुने अनुमान

काठमाडौं । पुष्प व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यका साथ यस वर्ष २७ औँ पुष्प प्रदर्शनी ‘फ्लोरा एक्स्पो २०८२’ आयोजना हुने भएको छ । आयोजकका अनुसार प्रदर्शनीमा करिब ६० हजार अवलोकनकर्ता आउने र १ करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।

फ्लोरिकल्चर एशोसिएसन नेपाल ले सोमबार पत्रकार सम्मेलन आयोजना गरी ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ चैत ५ देखि ८ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी हल मा एक्स्पो सञ्चालन हुने जानकारी दिएको हो ।

संघका अनुसार प्रदर्शनी आयोजना गर्न बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, उच्च मूल्य कृषि वस्तु उत्थानशील कार्यक्रम तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लगायतका निकायको सहयोग रहनेछ ।

प्रदर्शनीमा व्यवसायिक स्टल ६५, अफिसियल स्टल ११, प्रतिस्पर्धा स्टल २, फुड स्टल २, ल्याण्डस्केप स्टल १, सेल्फी स्टल १ तथा विद्युतीय गाडीको स्टल १ गरी कुल ८३ वटा स्टल रहने आयोजकले जनाएको छ ।

प्रदर्शनीमा सहभागी पुष्प व्यवसायीहरूले उत्पादन गरेका फूल तथा बिरुवाबीच उत्कृष्ट स्टल, उत्कृष्ट ल्याण्डस्केपिङ, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट फूल्ने बिरुवा, उत्कृष्ट पुष्प सजावट तथा उत्कृष्ट कट फ्लावर (गुलाब, जरबेरा र कार्नेशन) लगायत विधामा प्रतिस्पर्धा गराइनेछ ।

प्रतियोगिताको मूल्याङ्कन विषयविज्ञ प्राविधिकद्वारा चैत ५ गते बिहान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट हुने व्यवसायीलाई नगद, सिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ । साथै लामो समयदेखि निरन्तर पुष्प व्यवसाय गर्दै आएका एक जना व्यवसायीलाई कदरपत्रसहित सम्मान गर्ने कार्यक्रम पनि राखिएको संघले जनाएको छ ।

प्रदर्शनीमा पुष्प नर्सरी, पुष्प फार्म, पुष्प तथा पुष्पजन्य सामग्री आपूर्तिकर्ता कम्पनीहरू र विभिन्न संघसंस्थाको सहभागिता रहनेछ । मेलामा मौसमी फूल, आलंकारिक बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, बीउबिजन, ग्रीनहाउस, कृषि औजार तथा उपकरण, थोपा सिँचाइ प्रविधि, आधुनिक पुष्प खेती प्रविधि, जैविक विषादी तथा विभिन्न प्रकारका गमलाहरू प्रदर्शनी र बिक्रीका लागि राखिनेछन् ।

मेलास्थलमा फूल तथा बिरुवामा लाग्ने रोग–किराबारे परामर्श दिन ‘प्लान्ट क्लिनिक’ स्टल समेत सञ्चालन गरिनेछ, जहाँ बालिरोग विशेषज्ञको टोलीले सेवा दिनेछ । आयोजकका अनुसार यस्तो मेला पुष्प व्यवसायीका लागि उत्पादनको प्रचार–प्रसार, बजार विस्तार, नयाँ प्रविधिको जानकारी तथा उपभोक्तासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने महत्वपूर्ण अवसर बन्ने अपेक्षा गरिएको छ ।