प्रभु हेलिकप्टरको आइपीओतर्फ निर्णायक कदम

काठमाडौं । प्रभु हेलिकप्टर लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा (एजीएम) आगामी चैत २७ गते आयोजना गर्ने भएको छ। नागपोखरीस्थित आरन्य बुटिक होटलमा बिहान १०:३० बजे सुरु हुने उक्त सभा कम्पनीलाई निजीबाट सार्वजनिक कम्पनीमा रूपान्तरण गर्ने महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।

कम्पनीले उक्त सभामार्फत बहुप्रतीक्षित आइपीओ निष्कासनका लागि आवश्यक कानुनी तथा वित्तीय संरचना अनुमोदन गर्ने तयारी गरेको छ। प्रस्तावअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ६१ लाख २५ हजार कित्ता शेयर निष्कासन गर्नेछ, जसको कुल आकार ६१ करोड २५ लाख रुपैयाँ रहनेछ। यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ र अन्तिम स्वीकृतिको प्रतीक्षामा रहेको छ।

सभामा पूँजी संरचना परिमार्जन, अधिकृत तथा जारी पूँजी वृद्धि, प्रबन्धपत्र र नियमावली संशोधन गरी कम्पनीलाई “प्राइभेट लिमिटेड” बाट “पब्लिक लिमिटेड” मा रूपान्तरण गर्ने प्रस्ताव पेश गरिनेछ। साथै, सञ्चालक समितिलाई इश्यू म्यानेजरसँग सम्झौता गर्ने तथा नेप्से र सेबोनका सबै प्रक्रिया पूरा गर्ने अधिकार दिने प्रस्ताव पनि पारित गरिनेछ।

यससँगै आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, वासलात तथा नगद प्रवाह विवरण अनुमोदन, लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण र सञ्चालकहरूको निर्वाचनजस्ता विषय पनि सभामा छलफल गरिनेछ।

कम्पनीले उठाउने पूँजीमध्ये ठूलो हिस्सा नयाँ एयरबस वा बेल हेलिकप्टर खरिद गरी सेवा विस्तारमा लगानी गर्ने योजना बनाएको छ। साथै, आफ्नै ह्याङ्गर तथा मर्मत सम्भार पूर्वाधार निर्माणमा समेत लगानी गरिनेछ।

नेपालको दुर्गम भूगोलका कारण हेलिकप्टर सेवा खोज तथा उद्धार, धार्मिक पर्यटन तथा पूर्वाधार निर्माणका लागि अत्यावश्यक मानिन्छ। प्रभु हेलिकप्टरले एभरेष्ट र अन्नपूर्ण क्षेत्रका ट्रेक, मुस्ताङस्थित मुक्तिनाथ तथा गोसाइँकुण्डजस्ता धार्मिक स्थलमा सेवा दिँदै आएको छ।

कम्पनीको यो आइपीओलाई नेपाली उड्डयन क्षेत्रमा सार्वजनिक लगानीको नयाँ अवसरका रूपमा हेरिएको छ। आगामी आर्थिक वर्षमा पर्यटन क्षेत्र थप सक्रिय हुने अपेक्षाबीच यो निष्कासन उच्च सम्भावनायुक्त लगानी विकल्पका रूपमा प्रस्तुत भएको छ।