काठमाडौँ। नेपाल कस्मेटिक व्यवसायी संघको १३औँ वार्षिक साधारण सभा, १३औँ वार्षिकोत्सव तथा “सौन्दर्य उद्योगको दिगो यात्रा” विषयक कस्मेटिक स्मारिका २०८२ विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
राजधानीमा आयोजित एक कार्यक्रममा उद्योगी, व्यवसायी तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी अधिकांश वक्ताहरूले नेपालमा उद्योगमैत्री वातावरण सिर्जना गर्नुपर्ने, स्वदेशमै उत्पादन वृद्धि गर्नुपर्ने तथा नेपाली कच्चा पदार्थलाई देशभित्रै उपयोगमा ल्याउनुपर्ने विषयमा एकमत व्यक्त गरेका थिए।
उनीहरूले कच्चा पदार्थ निर्यात गरेर मात्र सीमित रहने पुरानो प्रवृत्ति अन्त्य गर्दै अब नेपालले तयारी वस्तु उत्पादन गरी निर्यात गर्ने दिशामा अघि बढ्नुपर्ने धारणा राखे। विशेषगरी नेपालमा पाइने बहुमूल्य जडीबुटी तथा प्राकृतिक स्रोतहरूको उपयोग गरी कस्मेटिक उद्योगलाई आत्मनिर्भर र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सकिनेमा जोड दिइयो।
कार्यक्रममा “सौन्दर्य उद्योगको दिगो यात्रा” शीर्षकको स्मारिका विमोचन गरिएको थियो। उक्त स्मारिकाले नेपालको कस्मेटिक क्षेत्रको सम्भावना, चुनौती र आगामी बाटोबारे गहिरो सन्देश प्रवाह गरेको छ। पुस्तकमा उठाइएको मुख्य भाव अनुसार—हामी नारामा स्वदेशी उद्योगको समर्थन गर्ने तर व्यवहारमा आयातलाई प्राथमिकता दिने प्रवृत्तिले नेपाली उद्योग कमजोर बनिरहेको यथार्थ चित्रण गरिएको छ। यस प्रवृत्तिमा परिवर्तन ल्याई स्वदेशी उत्पादनलाई व्यवहारमै प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
त्यसैगरी कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ को आय–व्यय विवरण पनि प्रस्तुत गरिएको थियो। संघले आफ्नो गतिविधि, उपलब्धि र भावी योजनाबारे जानकारी गराउँदै कस्मेटिक क्षेत्रलाई व्यवस्थित, गुणस्तरीय र विश्वसनीय बनाउन प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रम समापनका क्रममा वक्ताहरूले सरकार र निजी क्षेत्रबीच सहकार्य बढाउँदै नीति, लगानी र प्रविधिको उचित संयोजनमार्फत नेपाली उद्योगलाई सशक्त बनाउने समय आएको बताएका थिए।
समग्रमा, कार्यक्रमले सौन्दर्य उद्योगको दिगो विकासका लागि साझा प्रतिबद्धता व्यक्त गर्दै “नेपालमै उत्पादन, नेपालमै प्रयोग र विश्व बजारमा निर्यात” भन्ने सोचलाई व्यवहारमा रूपान्तरण गर्नुपर्ने सन्देश दिएको छ।