फ्लोरा एक्स्पोको तेस्रो दिन : २१ हजार ५ सयले गरे अवलोकन, ३८ लाखभन्दा बढीको कारोबार

काठमाडौं । पुष्प व्यवसाय प्रवर्धन गर्ने उद्देश्यसहित राजधानीमा आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पोमा दर्शकको आकर्षण बढ्दो देखिएको छ । भृकुटीमण्डपमा जारी उक्त मेलामा दैनिक रूपमा दर्शक सङ्ख्या र कारोबार दुवैमा वृद्धि हुँदै गएको आयोजकले जनाएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नारासहित सञ्चालन भइरहेको मेला चैत ८ गतेसम्म जारी रहनेछ ।

चैत ५ गते (बिहीबार)देखि सुरु भएको मेलाको पहिलो दिन ९ हजार ५०० जनाले अवलोकन गरेका थिए भने २१ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का कोषाध्यक्ष राजकृष्ण बजगाईंले जानकारी दिए ।

उनका अनुसार दोस्रो दिन शुक्रबार १७ हजार ५०० दर्शकले मेला अवलोकन गरेका छन् भने २९ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी तेस्रो दिन शनिबार (आज) २१ हजार ५०० दर्शकले अवलोकन गरेका छन् भने ३९ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको उनले बताए ।

यससँगै पहिलो दुई दिनमै २७ हजार दर्शकले मेला अवलोकन गरेका थिए भने कारोबार ५१ लाख रुपैयाँभन्दा बढी पुगेको थियो । तेस्रो दिनपछि दर्शक सङ्ख्या र कारोबार दुवैमा थप वृद्धि भएको देखिएको छ ।
एक्स्पोमा व्यावसायिक ६५, अफिसियल ११, प्रतिस्पर्धात्मक २, फुड २, ल्याण्डस्केप १, सेल्फी १ तथा बीवाईडी ईभी कारसहित १ गरी कुल ८३ वटा स्टल रहेका छन्। मेलामा सहभागी पुष्प व्यवसायीहरूले उत्पादन गरेका फूल तथा बिरुवाहरूलाई विभिन्न विधामा प्रतिस्पर्धा गराइने मेलाका संयोजक रामबहादुर तामाङ (सुनिल)ले बताए ।
यस वर्षको एक्स्पोमा करिब ६० हजार दर्शकले अवलोकन गर्ने र एक करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको संयोजक तामाङले जानकारी दिए ।