शेयर धितो कर्जा विस्तार उत्साहजनक

काठमाडौं। चालु आर्थिक वर्षको माघ मसान्तसम्म वाणिज्य बैंकहरूले प्रवाह गर्ने शेयर धितो कर्जा (मार्जिन प्रकृतिको कर्जा) मा उल्लेख्य वृद्धि देखिएको छ। तथ्यांक अनुसार यस्तो कर्जा गत वर्षको सोही अवधिको तुलनामा ४२.९० प्रतिशतले बढेको छ।

गत वर्ष माघ मसान्तसम्म ९३ अर्ब १२ करोड ४९ लाख रुपैयाँ रहेको कर्जा यस वर्ष बढेर १ खर्ब ३३ अर्ब ७ करोड ६५ लाख रुपैयाँ पुगेको छ। कुल १९ वटा वाणिज्य बैंकहरूको तथ्यांकअनुसार समग्रमा ४२ अर्ब रुपैयाँभन्दा बढी कर्जा विस्तार भएको देखिन्छ।

नबिल बैंक अग्रस्थानमा

नबिल बैंक लिमिटेड शेयर धितो कर्जा प्रवाहमा सबैभन्दा अगाडि देखिएको छ। बैंकले माघ मसान्तसम्म १७ अर्ब ५० करोड ३३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ, जुन गत वर्षको १२ अर्ब ९५ करोड ९५ लाख रुपैयाँको तुलनामा ३५.०६ प्रतिशतले बढी हो।

त्यसैगरी ग्लोबल आइएमई बैंक ले १३ अर्ब ३९ करोड ६९ लाख रुपैयाँ कर्जा प्रवाह गर्दै दोस्रो स्थान ओगटेको छ। कुमारी बैंक १० अर्ब ५९ करोड ३४ लाख रुपैयाँसहित तेस्रो र प्राइम बैंक ९ अर्ब ७९ करोड ३१ लाख रुपैयाँसहित चौथो स्थानमा रहेका छन्। प्राइम बैंकको कर्जा विस्तार ४९.३९ प्रतिशतले बढेको छ।

वृद्धिदरमा कृषि विकास बैंक अगाडि

कर्जा रकमका आधारमा नबिल अगाडि रहे पनि वृद्धिदरका हिसाबले कृषि विकास बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकको कर्जा प्रवाह २८६.३० प्रतिशतले बढेर ७ अर्ब ८७ करोड ७३ लाख रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा २ अर्ब ३ करोड ९१ लाख रुपैयाँ मात्रै थियो।

त्यस्तै माछापुच्छ्रे बैंक को १८१.०९ प्रतिशत, लक्ष्मी सनराइज बैंक को ११५.३ प्रतिशत र एनएमबि बैंक को ८७.२५ प्रतिशतले कर्जा लगानी बढेको छ। एनआइसी एशिया बैंक ले ८६.०३ प्रतिशत र सानिमा बैंक ले ८१.८ प्रतिशतले कर्जा विस्तार गरेका छन्।

केही बैंकको कर्जा घट्यो

सबै बैंकको कर्जा लगानी बढिरहेका बेला नेपाल बैंक लिमिटेड को शेयर धितो कर्जा १०.२७ प्रतिशतले घटेर ६ अर्ब ९३ करोड २८ लाख रुपैयाँमा झरेको छ। त्यसैगरी सिटिजन्स बैंक इन्टरनेसनल को कर्जा ३.९५ प्रतिशतले घटेर ५ अर्ब ९० करोड ९२ लाख रुपैयाँमा सीमित भएको छ।

अन्य बैंकहरूको अवस्था

तथ्यांक अनुसार सिद्धार्थ बैंक ले ८ अर्ब ९३ करोड, राष्ट्रिय वाणिज्य बैंक ले ८ अर्ब ९ करोड, प्रभु बैंक ले ६ अर्ब ६३ करोड र एभरेष्ट बैंक ले ४ अर्ब ३८ करोड रुपैयाँ शेयर धितोमा लगानी गरेका छन्।

त्यस्तै नेपाल इन्भेष्टमेण्ट मेगा बैंक को ४ अर्ब २ करोड, हिमालयन बैंक को ३ अर्ब ३४ करोड र नेपाल एसबिआई बैंक को ५९ करोड ६१ लाख रुपैयाँ लगानी रहेको छ।

समग्रमा, स्ट्याण्डर्ड चार्टर्ड बैंक बाहेकका १९ वाणिज्य बैंकहरूले १ खर्ब ३३ अर्ब रुपैयाँभन्दा बढी रकम शेयर धितो कर्जाका रूपमा बजारमा परिचालन गरेका छन्। यसले बैंकहरूमा शेयर बजारतर्फ कर्जा प्रवाह गर्ने उत्साह बढ्दो रहेको संकेत गरेको छ।