एभरेष्ट बैंकको नयाँ क्यालेन्डर सार्वजनिक

काठमाडौं। एभरेष्ट बैंक लिमिटेड ले आफ्नो दीर्घकालीन परम्परालाई निरन्तरता दिँदै वि.सं. २०८३ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ। बैंकले वर्षौँदेखि नेपालको धर्म, संस्कृति, पर्यटन तथा पुरातात्विक महत्व झल्काउने विषयवस्तु समेटेर क्यालेन्डर प्रकाशन गर्दै आएको छ।

यस वर्षको क्यालेन्डरमा उन्नाइसौँ शताब्दीको मध्यदेखि सुरु भएको र महादेशीय दृष्टिकोणले समेत महत्वपूर्ण मानिने “नेपालको विकास यात्राः नवप्रवर्तनका आयामहरू” लाई मुख्य विषयवस्तुका रूपमा प्रस्तुत गरिएको बैंकले जनाएको छ।

एक विशेष समारोहका बीच बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य ले क्यालेन्डर अनावरण गरेका थिए। कार्यक्रममा बैंकका सञ्चालकहरू तथा उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

एभरेष्ट बैंकका अनुसार हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहक रहेका छन्। बैंकले देशभर १३३ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १६३ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ।

विश्वव्यापी नेटवर्कमार्फत अत्याधुनिक मोबाइल, इन्टरनेट तथा एसएमएस बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको बैंकले नेपाल सरकारको राजस्व सङ्कलनका लागि ३३ वटा सङ्कलन केन्द्रमार्फत सेवा दिँदै आएको छ। साथै भारतको नयाँ दिल्ली लगायत अन्य देशमा प्रतिनिधि कार्यालय स्थापना गरी सेवा विस्तार गरिरहेको जनाएको छ।