सानिगाड हाइड्रोको आईपीओ खुला

काठमाडौं। सानिगाड हाइड्रो लिमिटेड ले आज (चैत ८ गते) देखि आफ्नो प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ।

यसअनुसार २८ करोड ५० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका २८ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।

आयोजना प्रभावित क्षेत्रतर्फ सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लाअन्तर्गत बुंगल नगरपालिका का वडा नं. १, २ र ४ का बासिन्दाका लागि १८ लाख ५२ हजार ५०० कित्ता सेयर बाँडफाँट गरिनेछ। बाँकी ९ लाख ९७ हजार ५०० कित्ता सेयर वडा नं. ३, ५, ६, ७, ९, १० र ११ का बासिन्दाका लागि छुट्याइएको छ।

त्यसैगरी सर्वसाधारणतर्फ छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ५ करोड ७० लाख रुपैयाँ बराबरको ५ लाख ७० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको छ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। स्थानीय बासिन्दाका लागि आवेदन चैत २२ गतेसम्म (छिटोमा) र २०८३ वैशाख ७ गतेसम्म (ढिलोमा) खुला रहनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आवेदन बन्द चैत ११ गते (छिटोमा) र चैत २२ गते (ढिलोमा) हुनेछ।