याम्बालिङ्ग हाइड्रोको आईपीओ खुला

काठमाडौं। याम्बालिङ्ग हाइड्रोपावर लिमिटेड ले आज (चैत ८ गते) देखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि पहिलो चरणमा सेयर निष्काशन गरेको हो।

कम्पनीले कुल जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात् २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोही अनुसार सेयर बिक्री प्रक्रिया आजदेखि सुरु गरिएको हो।

कम्पनीले ७ करोड रुपैयाँ बराबरको ७ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याएको छ। यसअनुसार जुगल गाउँपालिका, सिन्धुपाल्चोक जिल्ला अन्तर्गत वडा नं. १ देखि ७ सम्मका बासिन्दाहरूले मात्र आवेदन दिन सक्नेछन्।

स्थानीयका लागि न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

त्यसैगरी सर्वसाधारणतर्फ छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। विदेशमा कार्यरत नेपालीहरूले न्यूनतम १० कित्ता र अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन म्याद छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म रहनेछ। स्थानीय बासिन्दाका लागि भने आईपीओ निष्काशन छिटोमा चैत २२ गते र ढिलोमा २०८३ वैशाख ७ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ।