काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिए पनि आयात भने उच्च स्तरमा पुगेको तथ्याङ्कले देखाएको छ। भन्सार विभाग को पछिल्लो प्रतिवेदनअनुसार फागुन महिनामा पछिल्ला तीन महिनामध्ये सबैभन्दा बढी ग्यास आयात भएको छ।
तथ्याङ्क अनुसार फागुनमा ५१ हजार १९२ टन ग्यास आयात भएको छ। यो पुस र माघको तुलनामा बढी हो। पुसमा ४७ हजार ४६० टन र माघमा ४६ हजार २८५ टन ग्यास भित्रिएको थियो। गत वर्षको फागुनको तुलनामा यस वर्ष ३ हजार ४३८ टन बढी ग्यास आयात भएको देखिएको छ।
चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म कुल ३ लाख ७२ हजार २८२ टन ग्यास आयात भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १० हजार १८७ टनले बढी हो। यसले समग्र आयातमा निरन्तर वृद्धि देखाएको छ।
आयात बढे पनि बजारमा उपभोक्ताले सहज रूपमा ग्यास नपाएपछि नेपाल आयल निगम ले फागुन २८ गतेदेखि आधा सिलिन्डर (७.१ केजी) मात्रै बिक्री गर्ने नीति लागू गरेको छ।
निगमका अनुसार खाडी क्षेत्रमा देखिएको तनाव तथा केही प्राविधिक अवरोधका कारण आपूर्ति प्रणालीमा असन्तुलन देखिएको हो। तर आयातको तथ्याङ्क भने घटेको नदेखिएपछि बजारमा लुकाउने वा वितरण प्रणालीमा समस्या भएको हुन सक्ने आशंका पनि उठेको छ।
