काठमाडौं । नेपालका वाणिज्य बैंकहरूले पर्यटन क्षेत्रमा गर्ने लगानीमा उत्साहजनक वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार माघ मसान्तसम्म पर्यटन क्षेत्रमा प्रवाह हुने कर्जा ४.१२ प्रतिशतले बढेको छ।
तथ्याङ्कअनुसार २०८१ माघमा २० वटा वाणिज्य बैंकहरूले कुल २ खर्ब १६ अर्ब ७४ करोड रुपैयाँ पर्यटन क्षेत्रमा लगानी गरेका थिए। २०८२ माघसम्म आइपुग्दा यो रकम बढेर २ खर्ब २५ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ।
पर्यटन क्षेत्रमा सबैभन्दा बढी लगानी गर्ने बैंकमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ, जसले २३ अर्ब ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। त्यसपछि प्रभु बैंक ले २२ अर्ब ३७ करोड रुपैयाँ र प्राइम कमर्सियल बैंक ले २१ अर्ब ८० करोड रुपैयाँ लगानी गरेका छन्।
अन्य बैंकहरूमध्ये माछापुच्छ्रे बैंकले २९.१० प्रतिशतको उच्च वृद्धि देखाउँदै ६ अर्ब ४२ करोड रुपैयाँ लगानी गरेको छ। ग्लोबल आइएमई बैंकको लगानीमा पनि १२.३२ प्रतिशत वृद्धि देखिएको छ भने केही बैंकहरूको लगानीमा गिरावट आएको छ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकमा करिब ३० प्रतिशतको गिरावट देखिएको छ भने एनआइसी एसिया बैंक, कुमारी बैंक र लक्ष्मी सनराइज बैंकको लगानी पनि घटेको तथ्याङ्कले देखाएको छ।
नेपाल राष्ट्र बैंकले कुल कर्जाको २० प्रतिशत हिस्सा पर्यटन, कृषि, ऊर्जा र सूचना प्रविधि जस्ता प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरेपछि बैंकहरू यस क्षेत्रमा बढी आकर्षित भएका हुन्।
समग्रमा, बैंकहरूको पर्यटन क्षेत्रमा बढ्दो लगानीले नेपालको पर्यटन उद्योग विस्तारमा सकारात्मक संकेत दिएको भए पनि केही बैंकहरूको घट्दो लगानीले असन्तुलनको अवस्था पनि देखाएको छ।
